१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्री खाँणद्वारा मेलम्चीको बेलिब्रिज उद्घाटन


520
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची नदीमा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गर्नुभएको छ ।

गत असार १ र साउन १६ मा मेलम्चीमा आएको बाढीले चनौटेबजारस्थित रातोपुल बगाएको थियो । हेलम्बु गाउँपालिका २ र ७ जोड्ने सो पुल नेपाली सेनाले तयार पारेको हो ।

कार्यक्रममा गृहमन्त्री खाँणले बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताउनुभयो । आगामी दिनमा यस्ता खाले विपद्को पूर्वतयारीका लागि सरकारले विशेष योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।

आम नागरिकको जीवनरक्षा गर्ने काममा सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री खाँणको भनाइ छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।

नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको हो । ४८ दशमलब ७७ मिटर लम्बाई र ४ दशमलब २० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन रहेको छ ।

बाढी आएर पुल बगाएपछि आवतजावतमा निकै कष्ट बेहोर्दै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र उपचारका लागि अन्यत्र जान सजिलो भएको छ ।