
काठमाडौं । अफ्रिकी मुलुक मादागास्करमा भारी बर्षा र आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन् ।
प्रतिघण्टा २ सय ५० किलोमिटरको दरले आएको ‘बातसिराई’ नामको आँधीले हजारौंलाई विस्थापित गराएको छ । हावाहुरीले हजारौं घरका छाना उडाउनुका साथै ठाउँ ठाउँमा बिजुलीका पोल र रुख ढलेकाले त्यहाँको जनजीवन ठप्प बनेको छ ।
समुद्रमा १५ मिटर अग्लो छाल आउनसक्ने आँकलन गरिएको छ । मदागास्करमा दुई साताको अवधिमा आएको यो दोस्रो शक्तिशाली आँधी हो ।
अफ्रिकाको दक्षिणी भागमा हिन्द महासागरमा रहेको टापु मलुक मदागास्करमा दुई साता अघिको आँधीमा ५५ जनाको मृत्यु भएको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसंघको बिश्व खाद्य कार्यक्रमले मदागास्करका जनताका लागि खाद्यान्नको जोहो गर्नुका साथै उद्धारका लागि बिमानहरु तयारी अवस्थामा राखेको छ ।
भारी बर्षा जारी रहेकाले आँधी अझै केही दिन रहने भन्दै मौसमबिदहरुले मदागास्करमा थप क्षति हुने अनुमान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्