२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


हिउँ खेल्न लेक चढे, बेसीका पर्यटक


143
Shares

म्याग्दी । म्याग्दीका माथिल्ला क्षेत्र अहिले आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु हिउँ खेल्न लेकतिर गएपछि लेकहरु भरिभराउ भएका हुन् ।

बेनी नगरपालिका–२ का सन्तोष खड्काले भन्नुभयो, ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन, यसवर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ ।’ काठमाडौंबाट बेनी नगरपालिका–२ बगरफाँटस्थित दिदीको घरमा आएका खड्काले भन्नुभयो, ‘धेरै वर्ष पछि लेकमा पुगेर साथीहरुसँग हिउँ खेल्दा निकै आनन्द आयो ।’

यस्तै, खड्कासँग हिउँ खेल्न म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा पुग्नुभएको सुमन रिजालले पनि पहिलो पटक हिउँ खेल्न पाउँदा निकै आनन्द आएको बताउनुभयो । ‘चिसो लाग्ला भन्ने डरलाई हिउँ खेल्दाको आनन्दले जित्यो’ रिजालले भन्नुभयो, ‘यहाँको दृश्य र हिउँको रमाइलोले सबै कुरा बिर्साउँदोरहेछ ।’

म्याग्दीका ६ वटै स्थानीय तहका माथिल्लो क्षेत्रमा तीन दिनसम्म भारी हिमपात भएको थियो । सदरमुकाम बेनी बजारबाटै डाँडा डाँडाको हिउँ देख्न सकिने भए पनि स्थानीय युवायुवतीहरु हिउँ खेल्न लेकमा पुगेका हुन् ।

जिल्लाका पर्यटकीय स्थलहरु घोडेपानी, रुइसे, टोड्के, झाँक्रीपानी लगायतका स्थानमा हिउँ खेल्न शनिबार पनि उल्लेख्य मात्रामा आन्तरिक पर्यटकहरु पुगेका थिए । सदरमुकाम बेनीबजारबाट ती क्षेत्रहरुमा पुग्न गाडीमा दुई घण्टादेखि पाँच घण्टाको समय लाग्ने गर्दछ । यातायातको सुविधा भएको हुनाले पनि पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

बेसीबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । ‘हिउँमा खेल्न आएका मानिसहरूले केहीनकेही खानेकुरा किनेर खाने गर्छन्, जसका कारण यहाँको व्यापार बढेको छ ।’ होटल व्यवसायी मोहन खत्रीले बताउनुभयो ।

हिउँ खेलेपछि मानिस खाजाका लागि प्राय होटेलमा छिर्ने गरेको भन्दै उहाँले हिमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको जानकारी दिनुभयो ।

समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको टोड्केबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि, दशौं अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छे, गुर्जा, चुरेन, मानापाथी लगायतका दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिनुका साथै यस समय बनैभरी राताम्यै फुलेको लालीगुराँससँग रमाउन पाइन्छ ।