
काठमाडौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई गिजोलेको बताउनु भएको हो । पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा यो सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला बढी विवादास्पद बनाइएको टिप्पणी गर्नुभयो ।
एमसीसीमा राष्ट्रहीत विपरित प्रावधानहरू भए सम्झौता गर्नेहरूले नै गल्ती स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले एमसीसी संसदमा छलफल हुन पाउनुपर्ने र संसदमा टेबल भएपछि मात्र एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने नेता बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्ने बाटो छेक्न नपाउने भन्दै ज्ञवालीले सभामुखको भूमिका विवादास्पद रहेको टिप्पणी गर्नुभयो ।
नेता ज्ञवालीले स्थानीय तहको चुनावको मिति तत्काल तोक्न सरकारसँग माग गर्दै स्थानीय तहको चुनाव भएपछि संघ र प्रदेशको चुनाव पाँच वर्ष अगावै जुनसुकै बेला गर्न एमाले तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्