२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


लता मंगेशकरको स्वर ३६ भाषाका ३० हजार गीतमा


351
Shares

काठमाडौं । विश्वकै विख्यात स्वर साम्राज्ञी लता मंगेशकरले महायात्रा लिएकी छन् । उनको भौतिक देहवसानसँगै तीन पुस्तालाई जोड्ने शताब्दीकै स्वर किन्नरीको अन्त्य भएको छ । बलिउड संगीतमा समकालीन पुस्तामा लताको गीत नगाई कलाकारको कोटीमा उक्लिने प्रतिभा विरलै भेटिन्छ । भारत स्वतन्त्रताको शंखघोष गर्ने क्रान्ति गीतदेखि बलिउडका अजरअमर आधुनिक र फिल्मी संगीतमा छाउने सरस्वतीकी बरद् पुत्री लताले यसैदिन पार्थिव रुप धारण गर्नु अर्को संयोग बनेको छ ।

३६ भाषाका ३० हजार गीतमा आफ्नो मखमली आवाज भरेकी यो शताब्दीकै लोकप्रिय गायिका लताको अन्त्यले विश्व संगीतमै अपूरणीय क्षति पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले ट्वीट गर्दै यो रिक्तता कहिल्यै पूरा नहुने अभिव्यक्ति दिनुभएको छ । दशकौंसम्म भारतीय चलचित्र जगतमा पास्र्व स्वर दिएर आधिपत्य कायम गरेकी लता पाँच वर्षकै उमेरदेखि गायनमा लागेकी थिइन । उनका बाबु दीननाथ मंगेशकर नाटकका कलाकार थिए । बाबुको औंला समाएर उनले संगीत यात्रा प्रारम्भ गरेकी थिइन । दीननाथको जेष्ठ सुपुत्रीका रुपमा सन् १९२९ मा भारतको इन्डोर शहरमा उनले यो धरा टेकेकी थिइन । आर्थिक अभावका कारण दीननाथको परिवार घर बेचेर पुना बसाई सरेको थियो । पिताको देहवसानसँगै तीन बहिनी र एक भाइको अभिभावकत्व ग्रहण गरी लता मुम्बई सरिन ।

लताको कलायात्रा नाटकबाट शुरु भएको थियो । ७३ वर्षअघि हिन्दी चलचित्र महलमा दिएको आवाजले लताको संगीत यात्राले गति लियो । त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । आफनै मेहनतका कारण लोकप्रिय लता संसारमै सर्वाधिक हेरिने, पढिने र सुनिने प्रतिभाभित्र पर्छिन । पुरुष कलाकारको बर्चस्व रहेको भारतीय कलाजगतमा लताले विरासत नै फेरिदिइन । भारतीय कलापारखीका लागि उनी दशकौंदेखि जीवित देवीका रुपमा स्थापित रहिन । अन्तर्राष्ट्रिय सम्मान पाउने भारतीय कलाकारमा उनको नाम अगाडि आउँछ । सन् १९७९ मा लतालाई बेलायतको विश्व प्रशिद्ध रोयल अल्बर्ट हलमा गीत गाउने सुअवसर दिइएको थियो । यो दुर्लभ अवसर पाउने उनी पहिलो भारतीय कलाकार हुन । यसैगरी फ्रान्सले पनि उनलाई मुलुकको सर्वाधिक महत्वपूर्ण पदकले सम्मान गरिसकेको छ ।

लताको नाता नेपाली गीत संगीतसँग पनि जोडिएको छ । नेपाली चलचित्र स्वर दिएकी उनले पछिल्लो समय रामकृष्ण ढकालसँग गाएको युगल गीत लोकप्रिय छ । ९२ वर्षको उमेरमा समेत कोकिल स्वर जीवित राख्न सफल यी स्वर किन्नरीलाई हरेक पुस्ताले स्मरण गर्नेछ ।