३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


कांग्रेसले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जल्दाबल्दा विषयको एजेण्डा गायव


78
Shares

काठमाडौं, माघ २३ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तह निर्वाचनको मिति सम्बन्धमा राष्ट्रिय राजनीतिक तरङ्गित भइरहेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आगामी बिहिबार दिउँसो २ बजे बोलाइएको बैठकका एजेण्डा राष्ट्रिय राजनीतिका जल्दाबल्दा नभई पार्टीको आन्तरिक विषय तय गरिएको छ । राष्ट्रिय राजनीति अत्यन्तै तरल भएको अवस्थामा एजेण्डा जे तय गरेपनि सरकारको नेतृत्व गरिरहेको दलको बैठकले राजनीतिलाई प्रभाव पार्ने गरी छलफल हुने अपेक्षा गरिएको छ ।

एमसीसी र स्थानीय तह निर्वाचनको मिति बारे सत्तागठबन्धनभित्र खटपट चलिरहँदा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले बिहीबार बस्ने बैठकबाट महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएका छ । यही विषयले सत्तागठबन्धन नै धरापमा पर्ने अवस्था आएको बेला कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई निकै महत्वसाथ हेरिएको छ । एमसीसी र चुनावी तिथिको विषयलाई लिएर भएको विवादको प्रत्यक्ष दबाब कांग्रेसको आन्तरिक राजनीतिमा परेको छ । यी विषयमा कांग्रेसले औपचारिक निकायबाट ठोस निर्णय गरेको छैन् । विवादको भूमरीमा रहेको मुलुकको राजनीति अवस्थाकाबीच बस्न लागेको पहिलो सांगठनिकसहित समसामयिक विषयमा पनि छलफल हुने महामन्त्री विश्वप्रकाश शर्मा बताउनुहुन्छ ।

बैठकका लागि तय गरिएका ऐजेण्डा बाहेक राष्ट्रिय राजनीतिका विविध एजेण्डाहरुमा पनि स्वभाविक रुपले छलफल हुने कार्यसम्पादन समितिका सदस्य रमेश रिजालको जानकारी दिनुभएको छ । बैठकको लागि म्याद सकिएको भ्रातृ एंव शुभेच्छुक संस्था र अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन छलफल एजेण्डा तय गरिएको छ । लामो समयसम्म अधिवेशन गर्न नसकेर थला परेको भ्रातृसंस्थाको विषयमा बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

केन्द्रीय समितिको एक बैठकदेखि अर्को बैठकसम्मको रिक्तताबीच आन्तरिक तथा राष्ट्रिय राजनीतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने समेत अधिकार प्रत्यायोजन गरेको छ । कार्यसम्पादन समिति बैठकले गरेका निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ । केन्द्रीय समिति बैठकले २ साताअघि १३ पदाधिकारीसहित ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । कांग्रेसको विधानमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने व्यवस्था छ ।