
काठमाडौं, माघ २३ । आगामी वैशाख–जेठभित्र स्थानीय चुनाव गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको छ । गठबन्धनको निर्णय पश्चात जेठ महिनाभित्र चुनाव हुने पक्कापक्की जस्तै छ । पहिलो घेरामा रहेर चुनावको मुख्य सुरक्षा जिम्मेवारी पाउने प्रहरी संगठन प्रमुख शैलेश क्षेत्री घर गएसँगै तीनै तहको चुनावी बागडोर सम्हाल्ने अवसर कसले पाउला भन्ने चासो बढेको छ । राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको प्रहरी संगठनलाई यसअघिको छनोट प्रक्रियाबाट केही राहत मिलेको अनुभव गरिएको थियो । संगठनको साख जोगाउने या आगो झोस्ने त्यसको सर्वाधिकार सत्तारुढ पार्टीको गतिविधिमा निर्भर छ ।
अघिल्लो वर्ष असारमा प्रहरी महानिरीक्षक बनेका थापा क्षेत्रीको कार्यकाल आगामी १९ वैशाख २०७९ सम्म छ । उनीसँगै ३० वर्षे उमेर हदका कारण एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्कीले समेत सोही मितिमा अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि हाल रहेकामध्ये बाँकी रहने एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापामध्ये एकजना आईजीपी बन्दै तिनै तहको निर्वाचनको नेतृत्व गर्नेछन् ।
एआईजीद्वय पोखरेल र थापा दुवै जना केपीशर्मा ओली प्रधानमन्त्री रहेका बेला बढुवा भएका हुन् । एआईजी पोखरेल रिक्त रहेको स्थानमा बढुवा भएपनि थापाका लागि भने दरबन्दी थपेर बढुवा गरिएको थियो । यसैबीच सरकारले नेपाल प्रहरीमा ३ देखि ५ एआईजी दरबन्दी थप्ने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति पनि दिइसकेको छ । डीआईजीहरु गणेशबहादुर ऐर, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, प्रकाशजंगकार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, सौरभ राणा, रामकृपाल यादव र प्रकाश अधिकारी आईजीपीसँगै घर फर्कने तयारी छ ।
नयाँ ब्याचतर्फका दिवेश लोहनी, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार लामा, अरुणकुमार बिसी, मुकुन्द आचार्यलगायत एआईजीको दरबन्दी थपिएको खण्डमा प्रतिस्पर्धी हुनेछन् । यद्यपी तीस वर्षे सेवाअवधि नहटाएसम्म प्रहरी बढुवामा यस्तो झमेला सधैं आउने पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउनुहुन्छ ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अवकाशसँगै उनी सँगैका एआईजी, डीआईजीदेखि एसएसपीसम्मका अधिकारीले पनि अनिवार्य अवकाश पाउने भएकाले अन्यथा नभएमा एआईजी पोखरेल– थापाको ब्याचबाट नै अबको संगठन प्रमुख बन्ने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्