९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भ्रष्टाचारीको मुख नहेरे पनि अडियो त सुन्नुभयो प्रधानमन्त्रीज्यू ? : नेपाली कांग्रेस


0
Shares

काठमाडौं, फागुन ८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटालाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग फेरि माग गरेको छ ।

बिहीबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुसन्धान गर्ने निकायलाई सघाउनु ओली र बास्कोटाको कर्तब्य भएको बताए ।

टेप काण्डबारे प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने माग गर्दै शर्माले ‘भ्रष्टाचारीको मुखसम्म हेर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको उक्त अडियो त सुन्नुभयो होला नि !’ भन्दै कटाक्ष गरे ।

बाँस्कोटाले कर्मचारीप्रति अश्लील शब्द प्रयोग गरेको भन्दै शर्माले भने, ‘बाँस्कोटाले अडियो टेपमा कर्मचारीप्रति प्रयोग गरेको शब्द आपत्तिजनक छ । स्थायी सरकारका रुपमा हेरिने कर्मचारीप्रति प्रयोग गरिएको शब्द अशोभनीय छ ।’

बाँस्कोटाले बोलेका शब्दावली सुन्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै शर्माले, ‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्नु हुने प्रधानमन्त्रीज्यूले आफ्नै मन्त्रिमण्डलको एउटा मन्त्रीजीको अडिओ यसरी सार्वजनिक भएको अवस्थामा म मुख त हेर्दिनँ भनेको थिएँ, सुन्दिनँ भनेको कहाँ थिएँ र भन्नुभयो भने अलग कुरा हो । मुख हेर्ने/नहेर्ने अर्को प्रश्न । तर सुन्न त सक्नुहुन्छ होला नि, प्रधानमन्त्रीज्यूले ? प्रधानमन्त्रीले सुन्नुपर्छ।’

अडिओमा प्रयोग भएका शब्द मन्त्री बाँस्कोटाले बोलेको मात्र नभई सरकारका प्रवक्ताले बोलेकाले उक्त शब्दावली सरकारकै धारणासँग गाँसिने शर्माको तर्क छ ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति के थियो भने, सरकारको कसैले विरोध गर्न लाग्यो भने अमुक मन्त्री (गोकुल बाँस्कोटा) को मुख हेर्यो भने चुप लाग्छन् भन्नुहुन्थ्यो । अमुक मन्त्रीजीले बोलेको शब्दावली र उहाँको घनिष्टता हेर्दा हामी भन्ने शब्दभित्र को/को पर्छन् भन्ने प्रश्न हामीले उठाउनु स्वभाविक हुन्छ।’ शर्माले प्रधानमन्त्रीतर्फ आफ्नो निशाना तेस्र्याए । 

शर्माले हामीको परिभाषाभित्र को/को पर्ने हो प्रष्ट गर्न पनि प्रधानमन्त्रीसँग शर्माको माग छ ।