१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


के अरुकै भरमा हिड्नु पर्ने हो कांग्रेस ?


208
Shares

संजिव कार्की
विभिन्न वाद र सिद्दान्तका अनेकन किताबहरू पढ्न पाइन्छ । किताबमा पढिने सिद्धान्त र व्यवहारमा आकाश जमीनको पृथकता देखिन्छ । सिद्दान्त छ तदनुकुल नीति र आचारसंहिता पाइन्न । यस्तै बिडम्बनाका बीच काल्पनिक समाजवादको ठूल्ठूला ठेलीहरू नभए,नलेखे पनि बीपीले आफ्नो जीवनकालमा कांग्रेस राजनीतिलाई जसरी दिग्दर्शन गरे जुन व्यवहारिक प्रयोगमा कांग्रेसलाई र आफूलाई प्रयोग गरे वास्तवमा सिद्धान्त भनेको नै त्यही हो र सिद्धान्त किताबको ठेलीमा होइन व्यवहारको प्रयोगशालामा भेटिनु पर्छ । व्यवहारमा अर्थात दृष्टान्तमा जे पाइन्छ त्यो सिद्धान्त हो । वीपीले कहिल्यै भव्य सिद्धान्तको ठेली तयार गरेर समाजवादको परिकल्पना गरेनन् उनले जे गरे त्यो उदाहरण योग्य काम गरे ।

सिमित लेख अन्तर्वार्ता र व्याख्या र विश्लेषण,भाषण भन्दा बीपीको सिद्धान्तको किताव कतै पढ्न पाइन्न । बीपीले साहित्यमा कलम चोपे थुप्रै किताब लेखे तिनमा राजनीति घोलेनन् । राजनीति भन्दा धेरै साहित्यका किताब लेखे ।तर राजनीतिक सिद्धाान्तलाई अवलम्बन मात्रै गरे । किताबी कृतिमा लेख्न खासै रुचाएनन् । उनले जे गरे जसो गरे त्यो उनलाई पढने उनको सिद्धान्त बुझ्ने व्यवहारवादको कसीमा हो । वीपी दृष्टान्त बनेको कारण नै कांग्रेस आज सोही सिद्धान्तको ब्याज खाएर आफ्नो राजनीति जेनतेन धान्दै छ । सिद्धान्त निष्ठ हुनु र चुनाव जित्नु दुई फरक– फरक कुरा हुन् । वीपीले थोरै समय सत्तामा बस्न पाए । तर काम उल्लेख्य गरे । दीर्घकालीन सोच र दृष्टि राखेर राजनीति र सत्तामा काम गरे ।

प्रजातान्त्रिक समाजवादको भाष्य बीपीको बोलीमा होइन कर्ममा बोल्यो, बल्यो । नेपाली माटो र पानीमा बीपीले जे गर्न चाहे त्यसको लागि पर्याप्त समय पाउन सकेनन् । २०१७ सालमा राजा महेन्द्रको राजनीतिक कोपभाजनको शिकार हुनुपर्यो । जति सत्ता र पार्टीमा गरे त्यो आज पर्यन्त ओजस्वी छ तेजस्वी छ त्यही ब्याजले कांग्रेस आज पनि प्रमुख राजनीतिक शक्ति हुन पाएको छ । बीपीको सुकर्मको फल खाएर कांग्रेसहरू कुकर्म गर्न पनि उद्धत बन्छन् । जसको परिणाम भ्रष्टाचार प्रमाणित भएर थुप्रै कांग्रेस नेताहरू जेलको हावा खान पुगे । हुनत कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवाद छोडेको धेरै पहिले नै हो । नारा, ब्यानर र घोषणापत्रमा कांग्रेसले लोकतन्त्र र समाजवाद लेखे पनि कांग्रेस बीपीवाद छोडेर अन्यत्र कतै बरालिएको, अलमलमा परेको र कम्युनिस्टहरूको पिछलग्गु बनेको उदाहरण प्रशस्त छन् ।

कांग्रेस आफ्नो मौलिक सिद्धान्त र निष्ठाच्यूत बनेकै कारण कम्युनिस्टको बैशाखी र काँध चढेर मात्र सत्तामा पुग्ने भएको छ । कांग्रेस आफ्नै बल बुता भुलेर अर्काकै शरण र ओत लागेर बस्ने स्थिति आउदैनथ्यो आज कांग्रेस सच्चा बीपीवादी हुन्थ्यो भने । बीपी सरल थिए उनको समाजवाद पनि सरल थियो । १५ वर्ष भित्र आफ्नो जस्तै आर्थिक र सामाजिक सबै नेपालीको बनाउने । आज कुनै कांग्रेसका मन्त्री, प्रधानमन्त्री र सांसद समेतले आफ्नो हैसियत जस्तो जनताको बनाउछु भनेर कबोल गर्न सक्तैनन् । किनभने कांग्रेसले बीपीवाद छोडेर जनवाद,धनवाद र डनवाद रोजेर प्रजातान्त्रिक समाजवाद छोडेको छ । बीपीको परिकल्पनाको समाजवादमा नेता र जनताको दुरी एकदम कम हुन्थ्यो जनताको उन्नति कांग्रेस र देशको प्रगति हुन्थ्यो । कांग्रेस सत्तासीन हुन पाउँछ, सक्छ । तर ऊ आफ्नो बुताले सक्दैन । भैपरि आएको व्यहोर्ने नीति भएको कारण कांग्रेस सत्तामा पनि जान्छ तर अर्कैको निगाहा र दयामा । आफ्नो प्रमुख राजनैतिक प्रतिस्पर्धी दल फुटेको कारण कांग्रेस बलियो देखिएको हो । वास्तबमा कांग्रेस बलियो छैन । अरु दुर्वल भएर सवल देखिनु र साँच्चिकै बलियो हुन् बेग्लै कुरा हो । कम्युनिस्ट जुट्दै गर्दा आफ्नै ब र बुताले चुनाव जित्ने कांग्रेस बन्न नसकुन्जेल कांग्रेस जनको भविष्य र भाग्य अर्काकै हातमा रहन्छ ।

कम्युनिस्टको रणनीतिक चाला र कार्यनीति फरक हुने बुझेका बीपी कोइरालाले कम्युनिस्टसँग साझा आन्दोलन गर्न समेत तयार भएनन् । चालबाजी गर्न माहिर कम्युनिस्टहरू विश्वास योग्य हुँदैनन् र जुनसुकै बेला धोका दिन सक्छन भन्ने बीपीको बुझाइ थियो भन्छन् पुराना कांग्रेसजन । तसर्थ आफ्नो शक्ति र सामथ्र्य कमजोर बनाउन कसैसँग मिल्नु ठिक हुदैंन भन्ने बीपीको मान्यता थियो । प्रजातन्त्र ल्याउन र गणतन्त्र भित्र्र्याउन कम्युनिस्टसँग मिलेको कांग्रेस त्यो हदको मेल अस्वाभाविक थिएन । तर सत्तामा जान प्रतिष्पर्धा गर्दा समेत अरुसँग मिल्नु पर्ने र सहारा खोज्नु पर्ने स्थिति निकै बिडम्बनापूर्ण हो कांग्रेसको लागि । २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रसँग मिलेर साझेदारी गर्दै लडेपछि कांग्रेसले आफ्नो अलिअलि भएको मौलिकता र बीपीको कांग्रेस भन्ने धरातल समेत पोली,पकाइ, उसिनेर, तारेर, भुटेर खाइसक्यो भन्ने विश्लेषकहरूको बुझाइ रहेको देखिन्छ । कांग्रेस नेताहरूलाई अहिले निष्ठा र सिद्धान्तको राजनीति गर्नु छैन पद प्रतिष्ठा र सत्ताको राजनीति गर्नु छ ।

कांग्रेसलाई, कम्युनिस्ट विशेषतः पुष्पकमल दाहाल ‘प्रचण्ड’को माओवादी केन्द्र र एमालेबाट चोइटिएको नेकपा समाजवादीसँग मिलेर चुनाव लड्नु र जित्नुको हतारो छ । सिद्धान्त च्यूतको आरोप लागेका शेरबहादुरले भन्नुसम्म ठिकै हो तर कांग्रेस राजनीतिमा सिद्धान्त नछोडेका भनिएका रामचन्द्र पौडेल समेत कांग्रेससँग ३० प्रतिशत मात्र मत रहेको र बाँकी ७० प्रतिशत मत अरुसँग रहेको कारण अरुसँग मिलेर लड्नु भन्दा कम्युनिस्टहरूसँग मिलेर चुनाव लडने कुरा गर्न थालेका छन् । अब कांग्रेस राजनीतिमा रामचन्द्र पौडेलको उपादेयता सकिसकेको छ । आफ्नो पार्टीको महाधिवेशन बहिष्कार गर्नु नै रामचन्द्र पौडेलले राजनीतिक आत्महत्या गरे समान हो । कांग्रेसले लिने नीति र अख्तियार गर्ने रणनीतिमा धक नमानी बोल्ने हक रामचन्द्रले गुमाइ सके । कांग्रेसमा सभापतिको चुनावमा उपविजेता बनेका डाक्टर शेखर कोइरालाको कांग्रेस एक्लै चुनाव भिडने विचार बाहेक अरुको विचार चुनावको नतिजा मुखी मात्रै छ । यतिबेला कांग्रेस चुनावमुखी भन्दा भविष्यमुखी र दुरदर्शी हुनु आवश्यक छ । वीपीवाद अवलम्बन गर्दै बलियो कांग्रेस बन्ने बेलामा निर्धो र सत्तामुखी कांग्रेस बन्न खोज्नु दुर्भाग्यपूर्ण छ ।

आकस्मिक ब्रेकअप र अस्वाभाविक प्याचअप गर्न खप्पिस कम्युनिस्टहरुलाई समयमा चिनेर कांग्रेस चल्न सकेन भने कांग्रेस मजबूत बन्न सक्दैन । चिट्ठा र संयोगले सत्ताको सयर त गर्ला तर बलियो बनेर आफ्नो प्रजातान्त्रिक समाजवादी नीति अख्तियार गरी सत्ता हाँक्न कांग्रेसलाई संधै अड्चन आइलाग्ने छ । आफ्नो जनमत क्रमशः अर्काको चुनाव चिन्हमा भोट हाल्दा घट्ने र नेपाली राजनीतिमा नेपाली कांग्रेस प्रजापरिषद् बन्ने खतरा रहन्छ ।

वीपी कोइरालाको कांग्रेस हुँदा २००९ सालमा धनमानसिंह परियार कांग्रेस सहमहामन्त्री भएका थिए । दलितलाई त्यतिबेला त्यो स्थानमा लैजानु सामान्य कुरा थिएन । स्विजरल्याण्डमा महिलालाई मताधिकार दिनु भन्दा १२ वर्ष पहिले डडेल्धुराकी द्वारिका देवी ठकुरानीलाई प्रत्यक्ष चुनाव लडाएर विजयी बनाउदै मन्त्री बनाएर २०१६ सालमा महिला सहभागिताको सुनिश्चितता गरेका थिए । बीपीले आफ्नो १९ सदस्यीय मन्त्री मण्डलमा प्रेमराज आङ्देम्बे, दिवानसिंह राई, यादव सुर्यनाथ दास, परशुनारायण चौधरी, योगेन्द्रमान शेरचन,मीन बहादुर गुरुङ जमानसिंह गुरुङ, गणेशमान सिंह, राम नारायण मिश्र लगायतलाई समेटेर मन्त्रीमण्डलमा महिला मधेशी आदिवासी र जनजातिको समावेसी र सन्तुलनको राजनीतिक जग हालेका थिए । आज समावेशी र समानुपातिकको मुद्दा चर्कोसँग उठेको बेला हामीले बीपीकै पालामा यसको शुरुवात गरेका हौँ भनेर छाती ठोकेर भन्ने कांग्रेस पाउन मुश्किल छ । अहिले समावेशी नीति छ तर नियत गलत छ । संविधानको बाध्यकारी व्यवस्थालाई समेत नटेर्ने नेताहरू सिद्धान्तको दृष्टान्त कहिल्यै बन्न सकेनन् । त्यही भएर सिङ्गो हात निल्नेले औलो छोड्दा कत्रो त्याग भनेर प्रशंशा गर्ने स्थिति नेपाली राजनीति र समाजमा बनेको छ । बीपी गरेर देखाउने नेता थिए ।

अहिले नेताको लागि देश भएको छ । तर देशको लागि वीपी कोइराला जस्ता दूरगामी सोच र भिजन भएका नेता भएका छैनन् । कांग्रेस नेता र नीति नभएको पार्टी बन्दैछ । देशको सबैभन्दा पुरानो र अन्तर्राष्ट्रिय छवि भएको पार्टी आज आफ्नै खुट्टामा उभिन छोडेर अर्काको सहारा र बुइ चढेर चुनाव लड्ने र जित्ने परिकल्पना गर्छ भने त्यो पार्टीले बीपीको सपना साकार पार्छ होला र ? सहिदको रगतको मान गर्छ होला र ? जुन पार्टीले कांग्रेस भएको कारण हजारौ कार्यकर्ता मार्यो, उठिवास लगायो, घर परिवार तहस नहस गर्यो सोही पार्टीका नेतालाई तिनको चुनाव चिन्हलाई भोट हाल्न लगाउने कांग्रेस नेताको आज्ञा अब पनि पार्टीका कार्यकर्ता समर्थक सुभचिन्तक जनताले अवज्ञा नगर्लान र ? के कांग्रेस कार्यकर्ता,जनता कसैका रैती हुन् ? तिनको आफ्नो स्वतन्त्र अस्तित्व र विद्रोही चेत नहोला र ? सोचेको छ कांग्रेसले गम्भीर बनेर ? कांग्रेसका बृद्ध नेताको चेत गुमे पनि कांग्रेसको भाग्य र भविष्य बोकेका नेताहरू युवा ऊर्जा र जोशले पक्कै पनि हेक्का नराखेको होला भनेर कसरी विश्वास गर्नु ?