१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘भूपू गोर्खाका समस्या समाधानमा सरकार किन गम्भीर भएन ?’


2.626k
Shares

काठमाडौं । सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको आरोप लगाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकार जिम्मेवार नभएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि पटक–पटक समस्या समाधानका निम्ति सरकारलाई अग्रसरता लिन आग्रह गरेको भएपनि सरकारले वेवास्ता गरेको सांसदहरूको आरोप छ ।

बैठकमा बोल्दै सांसद भीम रावलले बेलायत सरकारसँग नेपाल सरकारले के कारणले कुरा गर्न नसकेको हो परराष्ट्र मन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । समितिले पटक–पटक निर्देशन गर्दा पनि सरकारको तर्फबाट कुनै काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

भूतपूर्व गोर्खाहरूको माग बमोजिम सरकारले तुरन्त उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायती सरकारसँग कुरा गर्नुपर्ने आफूहरूको धारणा रहेको उहाँले बताउनुभयो ।

सांसद रेनुका गुरुङले बेलायत सरकारले भूपू ब्रिटिश गोर्खालाई न्यून ज्यालामा सिंगापुर र ब्रुनाईको सेवामा खटाएको सम्बन्धमा परराष्ट्र मन्त्रालयको धारणा माग गर्नुभयो ।नेपाल र बेलायतबीचको सन्धी पुनरावलोकन गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद दिपक प्रकाश भट्टले सरकारले राष्ट्रिय हितलाई अगाडी राखेर कुरा गर्न नसकेको बताउनुभयो । वार्ता समिति गठन गरेर वार्ता समेत गर्न नसकेको उहाँको भनाइ छ ।

समितिमा पुनः सम्बन्धित मन्त्रीलाई बोलाएर भूपू गोर्खाको समस्या समाधानको सम्बन्धमा छलफल गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताउनुभयो । जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरू अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

सांसद् नेपालले विगतका सम्झौताहरूमा त्रुटी भएमा सच्याउनुपर्ने बताउनुभयो । विगतमा गरिएको सम्झौता पुरानो भएको भन्दै उहाँले नयाँ सम्झौतामा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।