१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशमा पिपिआर खोप अभियान सुरु


78
Shares

हेटौंडा, माघ २४ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहका भेडा बाख्राहरुमा पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि पीपीआर खोप लगाउने अभियान सुरु गर्न लागेको छ ।

मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गतेसम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताउनुभयो । उहाँले पहिलो पटक खोप अभियान थालिएको भन्दै एक हप्ता सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा १ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिनुभयो । उहाँले प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको जानकारी दिनुभयो ।