२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा केरा र आलु खेतीमा रोगको प्रकोप, किसानहरु चिन्तित


91
Shares

म्याग्दी । म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।

केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन् ।

बेनी नगरपालिका बगरफाँट, खबराका साथै मङ्गला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको सयौँ रोपनी केराखेतीमा रोगको प्रकोप देखिएको हो । त्यसैगरी, डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानहरुले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बगरफाँटका कृषक जीतबहादुर कार्कीले बताउनुभयो ।

यता, केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।

बगरफाँटका कृषक बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा संकटमा परेको बताउनुभयो । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुवातमा सामान्य देखिए पनि केही समय पछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको उहाँको भनाइ छ ।

हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको कृषक दुर्गाबहादुर थापाले बताउनुभयो । उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक थापाले जानकारी दिनुभयो ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केरा खेती गर्दै आउनुभएका खबराका अर्का कृषक शोभित शर्माले बताउनुभयो । ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,’ उहाँले भन्नुभयो ।

सुरुवातमा सामान्य देखिए पनि केही समय पछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको किसानले गुनासो गरेका छन् । धान खेतीबाट आम्दानी कम हुन थालेपछि यहाँका किसानले केरा खेती सुरु गरेका थिए ।