२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


२०७४ को स्थानीय निर्वाचनलाई फर्केर हेर्दा, यस्तो छ अहिलेको जोडघटाउ


1.755k
Shares

काठमाडौं । सरकारले आगामी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसंगै राजनीतिक दलका नेता कार्यकर्ता आ–आफ्नो जोड घटाउमा लागेका छन् ।

मुलुक संघीयतामा गएपछि २०७४ मा भएको ७५३ वटा स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धेरै स्थानमा जितेर पहिलो पार्टी बनेको थियो भने नेपाली कांग्रेस एमालेलाई पछ्याउँदै दोस्रो बनेको थियो । नेकपा माओवादी केन्द्र भने तेस्रो पार्टी बनेको थियो । त्यसैगरी तत्कालीन संघीय समाजवादी फोरम चौथो र राजपा नेपालले पाँचौ स्थान हासिल गरेको थियो ।

अहिले बेग्लै परिस्थिति

२०७४ को स्थानीय तह निर्वाचनमा सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले अहिले फुटेको छ । एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ ।एमाले फुट्दा केही स्थानीय तहका जनप्रतिनिधि नेपाल नेतृत्वको समाजवादीमा पनि गएका छन् । अबको स्थानीय तह निर्वाचनमा एमाले फुटको असर पर्ने नै छ ।

नेपाली कांग्रेसले त्यसबेला दोस्रो स्थान हासिल गरेको थियो । केही स्थानीय तहमा उसले माओवादीसंग तालमेल गरेको थियो । तर उसले तालमेल गर्दा पनि एमालेलाई उछिन्न सकेन ।तर कांग्रेसमा यो पटक भने विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम नेपाली कांग्रेससंग एकीकरण भएको छ । त्यतिबेला स्थानीय तहको निर्वाचन हुँदा प्रधानमन्त्रीका रुपमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो भने यस पटक पनि देउवा नेतृत्वको सरकारले नै निर्वाचनको मिति घोषणा गरेको छ ।
२०७४ मा चौथो र पाँचौ स्थान हासिल गरेका मधेश केन्द्रित दलहरु क्रमशः संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी पछि एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । तर अहिले यो पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ । यसले पनि आगामी निर्वाचनमा यी दुइ दलको हैसियत के हुने हो भन्ने देखिनेछ ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनले नगरपालिकाको मेयर, उपमेयर गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र वडा सदस्य गरी कूल ३५ हजार २सय २१ जनप्रतिनिधि चयन गरेको थियो । अबको स्थानीय तहले पनि त्यतिनै जनप्रतिनिधि चयन गर्नेछ । स्थानीय तहको निर्वाचन परिणामले प्रदेश र संघीय संसदको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले निर्वाचनको मिति घोषणा लगत्तै राजनीतिक दलका नेता कार्यकर्ता उत्साहित मात्रै नभएर अबको निर्वाचनले राजनीतिक दलहरुको आकार २०७४ कै अवस्थामा रहन्छ या परिवर्तन हुन्छ भन्ने जोड घटाउमा लाग्न थालेका छन् । किनकि २०७४ को स्थानीय तहमा ठूलो दलको रुपमा उदाएको एमाले प्रदेश र संघीय संसद राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि ठूलो दल बनेको थियो ।

२०७४ मा एमालेले स्थानीय तहमा जितेको जनप्रतिनिधिको संख्या

२०७४ को निर्वाचनमा नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये नगरपालिकाका मेयर र गाउँ पालिकाको अध्यक्ष गरेर २९४ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । त्यसै गरी नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी ३३१ पदमा जित हात पारेको थियो । एमालेले २ हजार ५६० वडा अध्यक्ष र १०हजार ९१२ वडा सदस्य जितेको थियो । तर अब हुने निर्वाचनमा एमाले बिभाजित भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएकाले त्यसको असर पर्ने नै छ । तर एमाले नेताहरु भने त्यसको असर नपर्ने दाबी गर्छन् ।
२०७४ को स्थानीय तहमा नेपाली कांग्रेसले जितेको संख्या
२०७४ को स्थानीय तह निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेसले नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्ष गरी २६६ वटा स्थानीय तहमा प्रमुख जितेको थियो । त्यसैगरी उपमेयर र उपाध्यक्ष गरी २२३ वटा स्थानीय तहमा उपप्रमुख हात पारेको थियो । कांग्रेसले २ हजार २८६ वडा अध्यक्ष र ८ हजार ६७९ वडा सदस्य जितेको थियो । स्थानीय तह निर्वाचनको परिणाम अनुसार कांग्रेसले प्रदेश र संघीय संसदमा दोस्रो स्थान हासिल गरेको थियो ।
२०७४ को स्थानीय तहमा माओवादी केन्द्रले जितेको संख्या
२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्ष गरी १०६ वटामा प्रमुख पद जितेको थियो । माओवादीले १११ वटा स्थानीय तहमा उपप्रमुख हात पारेको थियो । त्यसैगरी १ हजार १०२ वडा अध्यक्ष र ४ हजार १२३ वडा सदस्य माओवादीले जितेको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा मधेश केन्द्रित दलले जितेको संख्या

मधेश केन्द्रित दलहरु तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले ५९ स्थानीय तहका प्रमुख हात पारेका थिए ।जसमा संघीय समाजवादीले ३४ वटा स्थानीय तहमा प्रमुख जितेको थियो भने राष्ट्रिय जनता पार्टीले २५ वटा स्थानीय तहमा प्रमुख पद जितेको थियो । त्यस्तै समाजवादीले ३२ उपप्रमुख र राष्ट्रिय जनतापार्टीले ३० स्थानीय तहमा उपप्रमुख हात पारेको थियो । समाजवादीले २६२ वडा अध्यक्ष र १ हजार १११ वडा सदस्य जितेको थियो । उता राष्ट्रिय जनता पार्टीले १९५ वडा अध्यक्ष र ८६२ वठा सदस्य हात पारेको थियो ।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमले ९ वटा स्थानीय तहमा प्रमुख र ८ वटामा उपप्रमुख जितेको थियो । उसले ८८ वडा अध्यक्ष र ३५६ वडा सदस्य जितेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत स्वतन्त्र र अरु साना दलले स्थानीय तहमा जितेको संख्या

२०७४ को स्थानीय तह निर्वाचनमा पूर्व पञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख हात पारेको थियो । त्यसैगरी राष्ट्रिय जनमोर्चाले ३, तत्कालीन नयाँ शक्ति पार्टी (पछि जनता समाजवादी पार्टीसंग एकीकरण) २, स्वतन्त्र ६, नेपाली जनता दल २ र नेपाल मजदुर किसान पार्टीले एक स्थानीय तहका प्रमुख पदमा जितेका थिए । २०७४ को स्थानीय तह निर्वाचन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा चौथो शक्ति रहेको थियो । तर स्थानीय निर्वाचनमा भने उसले चौथो स्थान हासिल गर्न सकेन पछि धकेलियो ।

२०७४ मा स्थानीय तह निर्वाचन हुँदा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा थिए ।अहिले भने राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा छैन । अहिले कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन सरकार छ ।

सरकारले यसपाली एकै चरणमा बैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । २०७४ मा भने बैशाख ३१,असार १४ र असोज २ गते गरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो ।