
काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएसँगै करिब १ हजार पशुपंक्षी तथा वन्यजन्तुहरूको आरक्षण केन्द्रकाे रूपमा रहेकाे सदर चिडियाखाना विगत एक महिना देखि बन्द थियाे ।
पछिल्लो केही दिनदेखि संक्रमणदर घट्दै गएपछि सोमबारबाट चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ । कोरोनाका कारण बारम्बार बन्द हुँदै आएकाे चिडियाखानाले पनि अरु क्षेत्रजस्तै आर्थिक अभाव झेल्दै आएको छ ।
वार्षिक ३ करोड रुपैयाँ यहाँका जनावरहरूको खानपिनमा मात्रै खर्च हुने गरेको छ । यहाँका सबैभन्दा बढी रुचाइएका हात्ती, गैंडा र बाघकाे पानलपोषणमा चिडियाखानाले सबैभन्दा धेरै रकम खर्च गर्ने गरेकाे छ ।
हात्तीको आहारका लागि मात्रै वार्षिक १७ लाख खर्च लाग्ने गरेको चिडियाखाना प्रशासनको भनाइ छ । यस्तै, बाघ र गैंडाका लागि पनि वार्षिक १५/१५ लाख र बाँकी रकम अन्य जनावरहरूको आहारामा खर्च हुने चिडियाखानाले जनाएको छ ।
चिडियाखानाको आयस्रोतकाे मुख्य स्राेत टिकट बिक्रीबाट संकलन हुने रकम नै हाे । कोभिडका कारण बन्द हुँदा आयकाे मुख्य स्राेत नै बन्द हुन पुग्याे । जसका कारण आर्थिक अभाव झेल्दै आउनुपर्याे । अहिले भने पुनः सञ्चालनमा आएसँगै केही भए पनि राहत भएकाे चिडियाखानाकी प्रवक्ता लीना चालिसे बताउनुहुन्छ ।
चिडियाखाना सञ्चालनमा आएकै दिन अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिएको छ । माहामारीका कारण शैक्षिक संस्थाहरू बन्द रहेकाले पनि अवलोकनकर्ताको संख्या बढेको अनुमान गरिएको छ । धेरै समय पछि आफूहरूलाई मनपर्ने जीवहरू नजिकैबाट हेर्न पाउँदा आगन्तुकहरू पनि खुशी देखिन्थे ।
ऐतिहासिक महत्व बोकेका र लोप हुन लागेका पशुपंक्षीहरूको हेरचाह र संरक्षण गर्नु सम्बन्धित निकायका साथै आम नागरिकको पनि दायित्व हुन आउँछ ।
प्रतिक्रिया दिनुहोस्