
काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
मंगलबार महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।
पार्टीको दवाव, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्न पार्टीले निर्देशन दिएको हो ।
निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्