
काठमाडौं, माघ २५ । उपचारका लागि कतारमा रहेकी राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी बुधबार नेपाल आउने भएकी छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा बुधबार राति नेपाल आईपुग्ने जनाएको हो ।
घुँडामा लागेको चोटको उपचारका लागि सावित्रा कतार गएकी थिइन् । कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको चोटको सफल शल्यक्रिया गरिएको थियो ।
राष्ट्रिय टिमकी मुख्य फरवार्ड सावित्राले महिला लिग दौरान चोट लागेको थियो । विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट च्यातिएको थियो ।
चोटको कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् । एन्फाले कतार फुटबल संघको सहयोगमा सावित्राको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो ।
एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम र फरवार्ड बिमल घर्तिमगरले कतारमा उपचार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्