
काठमाडौं, माघ २५ । सांसदहरुले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनु पर्ने धारणा राख्नुभएको हो ।
सांसद अधिकारीले सबै प्रदेश र पालिकाहरुसम्म सार्वजनिक प्रशारणको पहुँच सुनिश्चित गर्ने कुरालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने पनि बताउनुभयो । उहाँले ऐनमा कतै पनि व्यवसायिक च्यानल सञ्चालन गर्ने वा नगर्ने भन्नेबारेमा उल्लेख नभएको भन्दै यसलाई सच्याएर स्पष्ट हुन आवश्यक रहेको पनि बताउनुभयो । सरकारले परिवर्तनको वाहकको रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विकास गर्न खोजेको हो भने स्वतन्त्र, निष्पक्ष र स्वायत्त किसिमबाट सञ्चालन हुनुपर्ने बताउनुभयो ।
बैठकमा सदस्य खिमलाल देवकोटाले सार्वजनिक प्रशारण सेवालाई व्यवस्थित गर्ने ध्येय हो भने प्रदेश र स्थानीय सरकारबाट स्वीकृती लिएर प्रदेश र स्थानीय सरकारले नै सञ्चालन गरेका सार्वजनिक सेवा प्रशारण संस्थालाई के गर्न सकिन्छ र कहाँ जोड्न सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने बताउनुभयो ।
सांसद देवकोटाले संघीय सरकारकै मातहतमा नेपाल टेलिभिजन र रेडियो नेपाल सिमित रहने हो भने सात प्रदेश सरकार एवं स्थानीय संघ, महासंघहरुले सिफारिस गरेका सार्वजनिक सेवा प्रशारण संस्था राख्न आवश्यक नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्