१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

एमसीसी कार्यसूचिमा नपरेपछि सरकारको आग्रहमा सभामुखद्वारा फागुन २ गतेसम्म बैठक स्थगित

130
Shares

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका स्थगित भएको छ ।

संघीय संसद सचिवालयले मंगलबार राति सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो ।

आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने सम्बन्धि कार्यसूचि नरहेपछि सरकारको आग्रहमा बैठक स्थगित गरिएको बुझिएको छ ।

कानुनमन्त्री दिलेन्द्र बडूले सभामुख अग्नी सापकोटालाई फोन गरेपछि सभामुखले संसद सचिवालयका महासचिव भरतराज गौतमलाई सूचना जारी गर्न लगाएको बुझिएको छ ।

एमसीसीको विषयमा सत्तारुढ गठबन्धनबीच विवाद बढिरहेको भन्दै सभामुख सापकोटाले सो विषयलाई कार्यसूचिमा राख्न नदिएको बताइएको छ ।

उता, माओवादी केन्द्रले माघ २७ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको र सो बैठकबाट एमसीसीबारे ठोस निर्णय ल्याउने भन्दै सभामुखलाई बैठक सार्न भने अनुसार सभामुख सापकोटाले एक साताका लागि बैठक सार्न लगाएको बुझिएको छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । आजका लागि बोलाइएको बैठकका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको थियो ।