११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पदको बोध नहुदा त्याग्नु पर्यो ९ मन्त्रीले जिम्मेबारी (भिडियो सहित)


0
Shares

खिलनाथ ताजपुरीया (ईमेज)

काठमाडौं, फागुन ९ । विभिन्न काण्डमा मन्त्री पद गुमाउनेहरुको संख्या बढ्दो छ । भ्रष्टाचारको अभियोग लागेपछि पद त्याग्न बाध्य गोकुलप्रसाद बाँस्कोटा गणतन्त्र स्थापनापछि पदीय आचरण विपरित काम गरेर पद गुमाउने नवौं मन्त्री बने ।

वि.स. २०६२/०६३ को दोस्रो जन–आन्दोलनपछि गठन भएका सरकारका मन्त्रीहरु कुनै न कुनै काण्डमा फस्ने क्रम बढेको छ । शक्तिशाली सरकारका प्रवक्ता तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा त्यस्तो सूचिको नवौ मन्त्री बन्नु भएको छ, जसले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन डिल गरेको अडियो सार्वजनिकसँगै पद त्याग गरे ।

दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारका वनमन्त्री मातृका यादवले निजामति कर्मचारीलाई दुव्र्यवहारका साथै नेपाली सेनासम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि पद त्याग्ने पहिलो गणतान्त्रिक मन्त्री बन्नु परेको थियो ।

वि.स. २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारका रक्षामन्त्री शरतसिंह भण्डारीले तराईका २२ जिल्लालाई देशबाट छुट्टिन संविधानले रोक्न सक्दैन भनेपछि पदत्याग गर्नुपरेको थियो भने सोही मन्त्रीमण्डलका भूमिसुधार मन्त्री प्रभु साहले हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा मुछिएपछि मन्त्रीबाट हात धुनु परेको थियो ।

उसो त तत्कालिन कृषिमन्त्री तथा एमाले नेता हरि पराजुलीले रोपाई कार्यक्रममा महिलामाथि अशिष्ट व्यवहारको आरोपमा, तत्कालिन उर्जामन्त्री एमाले नेतृ राधा ज्ञवाली आर्थिक अनियमितता तथा तत्कालिन खेलकुदमन्त्री पुरुषोत्तम पौडेल भ्रष्टाचार काण्डमा मुछिएपछि पदच्युत भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका शहरी विकासमन्त्री दिलनाथ गिरी पनि प्रधानमन्त्रीसंगको विवादमा मुछिएपछि वि.स. २०७४ पुस १७ गते जिम्मेवारीबाट मुक्त भए ।

वि.स. २०७४ साल फागुनमा केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेसंगै नियुक्त तत्कालिन कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्ययनरत छात्राबारे दिएको अभिव्यक्तिका कारण राजीनामा दिन बाध्य हुनुपर्‍यो ।

पद सुहाउंदो कार्य नगर्दा धमाधम पद त्याग्नु पर्ने र राजनीति नै चौपट बन्ने श्रृंखला जारी रहेको बेला बांस्कोटा नै विवादमा परेर बाहिरने अन्तिम मन्त्री बन्छन् भन्न सकिन्नं ।