
मिरा बस्नेत (ईमेज)
काठमाडौं, फागुन ९ । केपी शर्मा ओली नेतृत्वको सरकार काण्डैकाण्डमा घेरिन पुगेको छ । पछिल्लो अडियो प्रकरणले सरकारसँग जोडिने काण्ड थपिएको छ ।
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरण सेलाउन नपाउँदै प्रधानमन्त्री केपी ओलीका विश्वास प्राप्त संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरणले स्थान लियो ।
सेक्युरीटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसनको बार्गेनिङ गरेको अडियोले बाँस्कोटाको पदमात्र गएन, ओली सरकारसँग नयाँ काण्ड जोडियो ।
ओली सरकारको दुई वर्षे कार्यकालमा भ्रष्टाचारसँग जोडिएको अर्को काण्ड हो– यती होल्डिङलाई सरकारी जग्गा कौडीको भाउमा भाडामा दिनु । कानूनै संशोधन गरी यती समुहलाई राज्य कोषमा ५ अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको जग्गा लिजमा दिएको काण्डले सत्ताधारी दल नेकपाभित्रै खैलाबैला मच्चिएको छ ।
वाईडबडी खरिद काण्ड पनि निकै चर्चामा रह्यो । यो प्रकरणमा मुछिएका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको मृत्युपछि काण्ड सामसुम जस्तै भयो । निर्मल हत्या काण्ड पनि निकै चर्चित बन्यो । यो काण्डले निकास नपाइरहेको बेला तत्कालिन सभामुख कृष्णबहादुर महराको यौन काण्डले देशको राजनीति तरंगित बन्यो ।
होली वाइन काण्डले पनि ओली सरकारलाई नराम्ररी बदनाम बनायो । विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फाउन्डेसले दिएको १ लाख डलर रासीको पुरस्कार स्वीकारेको भन्दै प्रधानमन्त्री ओलीलाई र्याखर्याख पारिएको थियो । ३३ कीलो सुनकाण्डको मुख्य दोषी को हो भन्ने अहिलेसम्म पत्ता नलगाएर सरकारले यो काण्ड पनि जिवीत राखेको छ ।
उसो त यातायात क्षेत्रको सिण्डिकेट तोड्ने घोषणा गरेको सरकार त्यो अभियानमा असफल भएपछि सिण्डिकेट काण्डका नाममा यो विषय चर्चामा रह्यो । भारतले लगाएको नाकाबन्दीको जमेर प्रतिवाद गरेपछि राष्ट्रवादी छवी बनाउनु भएका प्रधानमन्त्री ओलीको यो कार्यकालमा कालापानी, लिम्पीयाधुरा र लीपुलकेको विवाद सुल्झाउन नसक्दा अर्को काण्ड थपिएको छ ।
‘म भ्रष्टाचार गर्दीन र हुन पनि दिन्न भन्ने प्रधानमन्त्री ओलीको सार्वजनिक अभिव्यक्तिलाई ललिता निवास, अडियो लगायतका भ्रष्टाचार काण्डले नराम्ररी गिज्याएको छ भने अन्य काण्डहरु थपिंदा सरकारको अलोकप्रियता चुलिएको छ ।
प्रतिक्रिया दिनुहोस्