
काठमाडौं । सरकारले गत सोमबार स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मुलुक निर्वाचनमय बन्दै गएको छ । निर्वाचन आयोग तीव्रताका साथ निर्वाचनको तयारीमा जुटिसकेको छ ।
राजनीतिक दलहरूले पनि चुनाव लक्षित गतिविधि बढाउन थालेका छन् । निर्वाचनको मिति घोषणासँगै राजनीतिक दलहरू आन्तरिक छलफल, सांगठनिक गतिविधि र २०७४ सालको स्थानीय तह निर्वाचनको समीक्षामा जुटेका छन् ।
संविधानसभाबाट संविधान जारी भएपछि पहिलो पटक भएको २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्र आएको थियो ।
एमालेले २ सय ९४ प्रमुख, ३ सय ३१ उपप्रमुख र २५ सय ८२ वडाध्यक्ष जितेको थियो । दोस्रो स्थानको नेपाली कांग्रेसले २ सय ६६ प्रमुख, २ सय २३ उपप्रमुख र २२ सय ७२ वडाध्यक्ष जितेको थियो भने तेस्रो स्थानको माओवादी केन्द्रले १ सय ६ प्रमुख, १ सय ११ उपप्रमुख र १ हजार ८८ वडाध्यक्ष जितेको थियो ।
संघीय समाजवादी फोरम नेपालले १८ प्रमुख, ३२ उपप्रमुख र ७१ वडाध्यक्ष जित्दा जनअधिकार फोरम लोकतान्त्रिकले ५ प्रमुख, ५ उपप्रमुख र २ सय ११ वडाध्यक्ष जितेको थियो । अन्य दल र स्वतन्त्र गरी २३ प्रमुख, २१ उपप्रमुखका साथै २ सय ५५ वडाध्यक्ष जित्न सफल भएका थिए ।
देशभर निर्वाचित कुल ३५ हजार ४१ पदाधिकारीमा नेकपा एमाले १४ हजार ९९ (४०.२४ प्रतिशत), नेपाली कांग्रेस ११ हजार ४ सय ५६ (३२.६९ प्रतिशत) र माओवादी केन्द्र ५ हजार ४ सय ४१ (१५.५३ प्रतिशत) छन् ।
७ सय ५३ स्थानीय तहमध्ये गाउँपालिका ४ सय ६० र नगरपालिका २ सय ९६ वटा छन् । एमालेका विजयी पदाधिकारीहरूमा अध्यक्ष १ सय ७१, उपाध्यक्ष १ सय ९४, मेयर १ सय २३ र उपमेयर १ सय ३७ रहेका छन् । कांग्रेसको अध्यक्षमा १ सय ६१, उपाध्यक्ष १ सय ३९, मेयर १ सय ५ र उपमेयर ८४ छन् ।
तेस्रो स्थानको माओवादी केन्द्रको अध्यक्ष ७२, उपाध्यक्ष ६८, मेयर ३४ र उपमेयर ४३ छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका कुल पदाधिकारीहरूको संख्या क्रमशः ६६ र ५५ रहेका छन् । राप्रपाले जम्मा १२ स्थानमा जितेको थियो भने जनमोर्चाले ७ र नेमकिपाले २ स्थानमा जितेका थिए ।
११ स्थानमा भने स्वतन्त्र उम्मेद्वारहरूले जित हात पारेको थिए । देशभर ६ हजार ७ सय ४३ वडा छन् । यीमध्ये सबैभन्दा धेरै ३७ दशमलव ९५ प्रतिशत एमालेका पदाधिकारी छन् । कांग्रेसका ३३ दशमलव ९३ प्रतिशत छन् भने माओवादी केन्द्रका १६ दशमलव ३६ प्रतिशत छन् ।
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीका पदाधिकारीहरु क्रमशः४ र ३ प्रतिशत छन् । देशभर कुल २ सय ९३ नगरपालिका छन् । जसमध्ये महानगरपालिका ६, उपमहानगरपालिका ११ र नगरपालिका २ सय ७६ वटा छन् ।
महानगरपालिका मध्ये नेकपा एमालेले २, नेपाली कांग्रेसले २, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले १–१ वटामा जित हात पारेका थिए । ११ उपमहानगरपालिकामध्ये एमालेले ६, कांग्रेसले ३, राष्ट्रिय जनता पार्टीले १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मा विजयी भएको थियो ।
त्यसो त स्थानीय तहको चुनावपछि राष्ट्रियस्तरका पार्टीहरूको संरचनामा व्यापक उथलपुथल आएको छ ।
प्रतिक्रिया दिनुहोस्