
काठमाडौं, माघ २६ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको छ ।
स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको निर्वाचन गराउन लागेकोप्रति आपत्ति जनाउँदै उसले सरकारको ध्यानाकर्षण गराएको छ ।
लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २ सय १५ को ६, २ सय १६ को ६ र २ सय २० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो ।
बैैशाख ३१ गते भएको पहिलो चरण निर्वाचन संविधान अनुसार नै भइरहेपनि असार १४ र असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको निर्वाचन डेढदेखि ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको अध्यक्ष सोनलको भनाइ छ ।
स्थानीय निर्वाचन घोषणा हुनु सकारात्मक रहेपनि संविधानअनुसार सबै चल्नुपर्ने उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्