१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेयरले परमादेशको माग गर्दै दिएको निवेदन सर्वोच्चद्वारा दरपीठ


468
Shares

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले पाँचवर्षे कार्यकाल उपभोग गर्न दिन परमादेश माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन दरपीठ भएको छ ।

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको मितिमा आफ्नो कार्यकाल पूर्ण नहुने भन्दै मेयर साहले निर्वाचन आयोगविरुद्ध मुद्दा दर्ताका लागि निवेदन दिनुभएको थियो ।

मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकिएको उल्लेख गर्दै सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो कार्यकाल पूरा नहुने जिकिर गर्नुभएको छ ।

तर, सर्वोच्चले भने स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ मा अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने उल्लेख भएको स्मरण गराउँदै निवेदन दरपीठ गरिदिएको छ ।

सरकारले वैशाखमा चुनाव गर्नका लागि मिति तोकेको निर्णयले निवेदकले दाबी गरेजस्तो पाँच वर्षे कार्यकाल घटाउने सम्भावना नभएको भन्दै सर्वोच्चले मेयर साहको निवेदनलाई आधारहीन भनेको छ ।