
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको समयमा भाइरस विरुद्धको २४ लाख डोज खोप हराएपछि स्वास्थ्य मन्त्रालय एकाएक विवादमा तानियो ।
खरिद, अनुदानबाट प्राप्त भएको खोपमध्ये २४ लाख डोज खोपको विवरण प्राप्त नभएपछि सरकारी व्यवस्थापनमा नै प्रश्न उब्जिएको थियो । जसमा छानविन गर्न भन्दै मन्त्रालयले सातै प्रदेशका सबै स्थानीय तहलाई खोपको सम्पूर्ण विवरण पठाउन निर्देशन दियो ।
जसअन्तर्गत ६ जिल्लाका १ सय ९ स्थानीय तहले खोप लगाएको विवरण दर्ता गरेनन् । मन्त्रालयले पुन माघ २६ गते सम्मलाई अन्तिम समय तोकेर दोस्रो निर्देशन दिँदा पनि पूर्ण विवरण दर्ता नभएको प्रवक्ता डा. संगीता मिश्रा बताउनुहुन्छ ।
मन्त्रालयको विवरणअनुसार नेपालमा हालसम्म कुल जनसंख्याको ७१ दशमलव ३ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने ५४ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षमाथिका ९० प्रतिशतले एक मात्रा खोप लगाएका छन् । ७३ दशमलव ५ प्रतिशतले दुवै मात्रा खोप पूरा गरेका छन् ।
१२ देखि १७ वर्ष उमेर समूहभित्रका ३४ लाख किशोर किशोरीमा ८३ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यो वर्गसमूहका ३७ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् भने जोखिमका रहेका ६ लाख ५८ हजारले खोप लगाएको मन्त्रालयले जनाएकाे छ ।
नेपालले हालसम्म खरिद र कोभ्याक्स कार्यक्रमबाट गरी ४ करोड ६५ लाख ७० हजार ७ सय २० मात्रा खोप प्राप्त गरेको छ । जसमा ३ करोड ४६ लाख ५ हजार खोप लगाइसकिएको छ । यो तथ्याङ्कअनुसार सरकारसँग अझै १ करोड १९ लाख ६५ हजार ७ सय २० डोज खोप मौज्दात हुनुपर्छ ।
तर, लगाइएको खोपको विवरण स्पष्ट नहुँदा सरकारमाथि उठेको प्रश्नले अहिलेसम्म विश्वासयोग्य जवाफ आएको छैन ।
प्रतिक्रिया दिनुहोस्