
काठमाडौं, माघ २७ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताउनु भएको छ ।
बिहीबार शिक्षा पत्रकार नेपालले काठमाडौंमा आयोजना गरेको परीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण भइरहेको बताउनुभयो ।
उहाँले ऐनमा व्यवस्था नभइ सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिने बताउनुभयो ।
अध्यक्ष शर्माले यस पटकको एसईई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताउनुभयो । बोर्डले करिव ५ लाख विद्यार्थी यस पटकको एसईईको परीक्षामा उपस्थित हुनसक्ने अनुमान गरेको छ । अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समयतालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्