
दीपक श्रेष्ठ/गृष्मा राजभण्डारी
काठमाडौं । तिलगंगाबाट आर्यघाट जाँदा भेटिने टहराको माझबाट एउटा सानो बाटो गल्लीभित्र छिर्छ ।
त्यही गल्लीबाट ५० मिटरअगाडि बेवारिसे अवस्थामा १६ सय वर्षअघि मानदेवको पालामा बनेको ऐतिहासिक त्रिविक्रमको मूर्तिबारे धेरैलाई ज्ञान छैन । यसको महत्व नबुझाइँदा खासै पूजाआजा हुँदैन ।
देवताको शिर कुल्चिएर पैदलयात्री हिँडेको दृश्य त झन् अस्वाभाविक लाग्छ । सुरक्षाको बन्दोबस्ती कतै छैन । फोहोरको डुंगुरभित्र रहेको यो मूर्ति हरेक बर्खामा बाढीको शिकार हुन्छ । शिलालेख सहितको मूर्ति अस्तित्वहीन भएमा धार्मिक तथा सांस्कृतिक चिनो हराउने संस्कृतिविद् सुशील कोइरालाको चिन्ता छ ।
‘यहाँ भएको मूर्ति त्रिविक्रान्तमध्ये विष्णुविक्रान्तको मूर्ति हो, यो मूर्ति नेपालमा दुईवटा मात्र छ,’ उहाँ भन्नुहुन्छ, ‘लाजिम्पाटमा रहेको यस्तै दुर्लभ मूर्ति संग्रहालयमा राखिएको छ ।’
पशुपति क्षेत्रमा रहेको मन्दिरको दुरावस्था साँच्चै टिठलाग्दो छ । विष्णुले ब्राम्हणको अवतार लिएर बलिराजाले बर माग्दा एउटा पाउ आकाश, एउटा पाउ पाताल र एउटा पाउ ब्राम्हणको शीरमा राखेको धार्मिक गाथा यो मूर्तिले दर्शाउने संस्कृतिविद् कोइराला बताउनुहुन्छ । विष्णुविक्रम र त्रिविक्रमको कथालाई यही मूर्तिले व्याख्या गरेको उहाँको भनाइ छ ।
मूर्तिमा रहेको शिलालेख मात्र हैन, मूर्तिको आकारप्रकार पनि नचिनिने अवस्थामा पुगेको छ । सुकुम्बासी बस्ती बढ्दै जाँदा मन्दिर उखेलेर घर बन्ने त्राही–त्राही उतिक्कै छ । अझ वरिपरि सवारीपार्किङ क्षेत्र विस्तार गरिँदा मूर्ति रहेको स्थान थप कुरुप देखिन्छ ।
हरेकपल्ट फेरिने संस्कृति मन्त्री र पशुपति विकास कोषका पदाधिकारीले संरक्षणको प्रतिबद्धता व्यक्त गरे पनि पशुपतिभित्रबाट यस्ता अमूल्य सम्पदा हराउने क्रम रोकिएको छैन । यसतर्फ कोषको ध्यान पुग्न जरुरी छ । नत्र पशुपति क्षेत्रमा गरिएको सतही सुधारको नारा पाखण्ड बन्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्