
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आव्हान गरेको छ ।
बिहीबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले पार्टी परित्याग गरेका पार्टीका पूर्व अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गरी पार्टीमा स–सम्मान फर्किनका लागि आव्हान गरेको हो ।
पूर्वअध्यक्ष थापाले उठाएका विषयहरूमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठक समेत बोलाइसकिएको अवस्थामा पार्टी परित्याग गर्नुले उहाँले समस्या समाधानमा चाहाना नराख्नुभएको धारणा बैठकमा व्यक्त भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
राप्रपाले पूर्व अध्यक्ष थापाले पूर्ववत् निर्णय पुर्नविचार गरी पार्टीमा सक्रिय हुने आशा राखेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने सबै तहमा उम्मेदवार उठाउने निर्णय गरेको छ । देशव्यापी रूपमा प्रशिक्षण सञ्चालन गर्ने तथा हिन्दू राष्ट्र र राजसंस्थाको विषयमा जनतालाई जागरुक गराउन देशव्यापी रूपमा कोणसभा र घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहनुभएको तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।
समान विचार भएका व्यक्ति, समूह वा दलसँग पार्टी एकता अथवा सहकार्य गर्ने नीति पार्टीको रहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको प्रयास भइरहेको र सो प्रयासलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्