
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले १६ औं संस्करणको एनएनआईपीए स्पोर्टस् अवार्ड फागुन तेस्रो साता गर्ने भएको छ ।
एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गरेर हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड फागुन १७ गते आयोजना गर्ने जनाएको हो । संघका महासचिव शिव सुन्दर गोथेले अवार्ड ललितपुरस्थित बज्र बाराही मन्दिर परिसरमा आयोजना हुने जानकारी दिनुभयो ।
अवार्ड नेपाल ओलम्पिक कमिटीमा समावेश भएका २७ खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाखले सम्मान गर्ने आयोजकको तयारी छ ।
त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्