२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दाङको तुलसीपुरमा जुत्ता पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु ,१ जना घाइते


130
Shares

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईनमा मध्यरातिमा घरमा भएको आगलागीबाट निसासिएर पाँच जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५/१५ वर्षीय दुई बालक र एक बालिका तथा करिब ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

इरम फुटवेयर चप्पल गोदाम भएको चारतले घरमा आगलागी भएपछि बिहान मात्रै आगो नियन्त्रणमा आएको हो । पाँचै जना निसास्एिर मृत्यु भएको प्रहरीले जनाएको छ । ‘तेस्रो तलामा रहेकाहरु निसासिएर मृत्यु भएको जस्तो देखिन्छ’ प्रहरी भन्यो ‘चौथो तलामा रहेकाहरु अलिअलि जलेका पनि छन् ।’

घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ ।

आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

विद्युतको मिटर पड्किदा आगलागी भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ ।