
दाङ । दाङको तुलसीपुरमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै गएको छ । पिउने पानी, शौचालय र बस्ने व्यवस्थित ठाउँ नहुँदा सबैले सास्ती खेप्दै आएका छन ।
खेल खेल्नका लागि मात्र नभई कुनै पनि सार्वजनिक कार्यक्रम वा अन्य कार्यक्रम हुने ठाउँ हो यो अरनिको खेल मैदान । २०२८ सालमा खेलकुदको लागि बनाईएको यो मैदान हेर्दा अहिले बेवारिसे झै देखिन्छ ।
तुलसीपुर बजारको केन्द्रमा रहेको यो खुल्ला खेल मैदान सबैलाई पायक पर्ने गरी बनाईएको छ । खेल खेल्न होस वा हेर्न, घाम ताप्नको लागि मात्र नभई ठूला कार्यक्रम पनि यही मैदानमा हुने गर्दछन ।
तर, अहिलेसम्म यो मैदानको विकास तर्फ सम्बन्धित निकायले ध्यान नदिँदा बेवारीसे झै देखिएको स्थानीय बेदप्रकाश गिरीको गुनासो छ ।
स्थानीयको मात्र नभई खेलाडीहरूको पनि उस्तै–उस्तै गुनासो छ । मैदानमा खेल खेल्न आएपछि शौचालय, पिउने पानी नहुँदा बाहिर होटलमा जानु पर्ने बाध्यता वर्षोदेखि ज्यूकात्यूँ रहेको छ ।
पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको खेलाडी नविन केसीको आरोप छ ।
यो अरनिको मैदान झण्डै ३ बिगाहा क्षेत्रफलमा फैलिएको छ । मैदानको उत्तरतर्फ भलिबल र दक्षिणतर्फ फुटबल खेल हुने गर्दछ । यो मैदानमा जिल्लादेखि राष्ट्रिय स्तरका खेल भएका छन् । तर, दर्शकहरू भने यत्रो वर्षसम्म धुलोमै बसेर खेल हेर्न बाध्य भएको गुनासो छ , स्थानीय खड्ग बस्नेतको।
तुलसीपुरको प्रमुख परिचयको रुपमा रहेको अरनिको मैदानमा विकास नहुनु दु:खको कुरा हो । तर, खेल मैदानमा जुन संरचनाहरू हुनु पर्ने हो त्यो नभएको र अतिक्रमण बढ्दै गएको खेलकुदकर्मीको भनाइ छ ।
यता अरनिको मैदानको जग्गा मालिक तुलसीपुर नगर विकास समितिले भने जग्गा अतिक्रमण नभएको मैदानमा पहिला शौचालय बनाएको भएयता पनि तोडफोड गर्नाले बन्द गरिएको जनाएको छ ।
अरनिको मैदानलाई मिनी रङ्गशालाको रुपमा निर्माण गर्न काम अगाडि बढाएको र कोरोना महामारी र बजेटका कारणले समस्या भएको तुलसीपुर उपमहानगरले जनाएको छ ।
नेताका हरेक भाषणमा स्मार्ट सिटि बनाउने सुनिन्छ । तर, बजारको मुटुमै रहेको यो अरनीको मैदानलाई व्यवस्थीत बनाउन भने कुनै पहल गरिएको देखिदैन । विभिन्न बहानामा यो मैदानलाई चुनावी नारामै सीमित गरेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्