
काठमाडौं । सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने बताउनुभएको हो ।
२०७८ माघ २७ गते देखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उहाँले फागुन १ गतेबाट दोस्रो डोज भ्याक्सिन लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताउनुभयो ।
मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको जानकारी दिनुभयो । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले ५ देखि ११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भइसकेको बताउनुभयो ।
ठूला अस्पतालहरुमा र जनघनत्व बढी भएका शहरका विभिन्न सार्वजनिक स्थानहरुमा खोप केन्द्र निर्धारण गरेर दैनिक रुपमा खोप प्रदान भैरहेको तथा दैनिक आवतजावत गर्ने स्थान जस्तै बसपार्क, काठमाडौ उपत्यकाका मुख्य प्रबेश नाकाहरुमा यात्रुहरूलाई लक्षित गरी दैनिक खोप सेवा प्रदान गरिएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
सार्वजनिक सेवा प्राप्तिको लागी कोभिड–१९ विरुद्धको खोप अनिवार्य रुपमा लिनुपर्ने कानूनी प्रावधान लागू गरिएको गर्नुका साथै खोप लगाएको क्यूआर कोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको उहाँले बताउनुभयो ।
हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाइसकिएको उहाँले उल्लेख गर्नुभयो । कोभिड–१९ परीक्षणको मूल्य नीजि अस्पताल प्रयोगशालामा २ हजार रुपैयाँ बाट घटाई १ हजार ५०० रुपैयाँ र सरकारी स्वास्थ्य संस्थामा १ हजार रुपैयाँबाट घटाई ८०० रुपैयाँ कायम गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) मा २४ सै घण्टा (११३३) सेवा मार्फत परामर्श सेवा प्रदान गर्न शुरु भएको, भारतसँग सिमाना जोडिएका प्रवेश बिन्दुहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्ये ९० प्रतिशतको स्क्रिनिङ भैरहेको तथा स्क्रिनिङ भएका मध्य ८७ प्रतिशतभन्दा धेरैको कोभिड–१९ को परीक्षण भइरहेको जानकारी दिइएको छ ।
त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाइएको छ ।
मन्त्री खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३) मन्त्रिपरिषदबाट स्वीकृत भैसकेको, मृगौला प्रत्यारोपण, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा, राष्ट्रिय राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७८–२०८८ को मस्यौदा, राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७८–२०८६ को अन्तिम मस्यौदा, जेरीयाट्रीक स्वास्थ्य सेवा रणनीति २०७८, नेपाल स्वास्थ्य लेखा २०१७–१८, नेपाल स्वास्थ्य संस्था सर्वेक्षण–२०२१, टेलिमेडीसीन सेवा सञ्चालन कार्यविधि, २०७८, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका,२०७८ तर्जुमा भएको बताइएको छ ।
त्यस्तै, दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यले सरकार र विकास साझेदारको संयुक्त पहलमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०७९–२०८६ तर्जुमा कार्य शुरु गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।
संघ, प्रदेश र स्थानीय गरी ३ ओटै तहमा जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन सम्पन्न गरिएको, कोभिड–१९ संक्रमित बालबालिकाहरूको उपचार सम्बन्धी मापदण्ड, आकस्मिक स्वास्थ्य सेवा, आधारभूत स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य, आँखा, नाक, कान, घाँटी, मुख स्वास्थ्यको लागि स्तरीय उपचार पद्धति स्तरीय उपचार मापदण्ड जारी गरिएको जानकारी गराईएको छ ।
रेबिज बिरुद्धको इम्यूनोगलाेबुलिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र वितरण गरिँदै आएकोमा हाल सातै प्रदेशका १–१ ओटा अस्पतालबाट निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको र नेपालको मध्य भागमा जेष्ठ नागरिक अस्पताल स्थापना गर्ने उद्देश्यले समिति गठन गरि सम्भाव्यता अध्ययन गर्ने कार्य भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो ।
यसैबीचमा २ हजार २ सय आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको, जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुबिधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण समेत भैसकेको र ५, १० तथा १५ बेडका २ सय २६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भई कार्य प्रारम्भ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्