१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रमोद खरेल र रुक्साना लिम्बूले गाएको गीतको संगीत नचोरेको संगीतकार खड्काको दाबी


143
Shares

काठमाडौं, माघ २८ । संगीतकार महेश खड्काले संगीत चोरेको भनेर संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका हुन् । उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको आरोप लगाए ।

गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप संगीतकार वसन्त सापकोटाले लगाएका छन् । संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चा भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाउनु भएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।

पछिल्लो समय नेपाली गीत संगित र शब्द चोरीको आरोप प्रत्यारोपको शिलशिला चलेको छ । कहि दिन अघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन् । त्यस्तै गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो । यता, सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र वसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानूनी उपचारमा भने जानुभएको छैन ।