
काठमाडौं, माघ २८ । नारायणघाट-बुटवल सडक खण्डमा डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरुमाथि छानविन गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको आजको बैठकले नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानविन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आँकडा पेश गरिएको समितिको ठहर छ ।
यसैगरी बैठकले छिमेकी राष्ट्रहरुबाट नेपाल प्रवेश गर्ने ठुला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमता भन्दा बढी मालवस्तुहरु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परिक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्धारित समयमा काम सम्पन्न गर्नका लागि भुक्तानी समस्या देखिएकाले भुक्तानी समस्या समाधान हुनेगरी बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । निर्माण सामग्रीहरु सहज उपलब्ध हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्