
काठमाडौं, माघ २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
बिहीबार साँझ ओली र दाहालबीच भएको टेलिफोन कुराकानीका क्रममाः एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न दाहालले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।
दाहालका स्वकीय सचिव रमेश मल्लले शुक्रबार सामाजिक सञ्जालमार्फत दाहालले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो बनिसकेको भन्दै यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफलको प्रस्ताव राखेको उल्लेख गर्नु भएको छ ।
दाहालले एमालेको धारणा समेत स्पष्ट पार्न आग्रह गरेको र देश निर्वाचनमा होमिएकाले एमसीसीमा दलहरूबीच राष्ट्रिय सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भनेको मल्लले लेख्नु भएको छ ।
तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको भन्दै बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस् । तर गैर सांसद संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काएकाले यसबारे अरु कुनै भ्रममा रहन जरुरी नरहेको दाहाको सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार साझ दाहालले ओलीलाई फोन मार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।
दाहालले ओलीलाई ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन भनेको रिजालले उल्लेख गर्नु भएको छ । जवाफमा ओलीले ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् । नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’ भनेको रिजालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्