
काठमाडौं । वातावरणविद्हरूले ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई वन विनाशलाई तीव्रता दिन अनुमति दिएको आरोप लगाएका छन् ।
जलवायु परिवर्तनसँग लड्ने हो भने अमेजनको सुरक्षा गर्नु आवश्यक रहेकोमा विश्वभरका नेता र वातावरणविद्हरु एकमत भएका छन् ।विश्वको फोक्सो मानिने ब्राजिलको अमेजन जंगल फडानी गतबर्ष भन्दा पाँच गुणाले बृद्धि भएको छ ।
सरकारी स्याटेलाइट तथ्याङक अनुसार जनवरीमा ब्राजिलको अमेजनमा काटिएका रूखहरूको संख्या गत वर्षको सोही महिनाको वन फँडानी भन्दा निकै बढी रहेको पाइएको छ । नष्ट गरिएको क्षेत्र २०२१ भन्दा पाँच गुणा ठूलो छ ।
जुन २०१५ मा रेकर्डहरू राख्न सुरु भएदेखिको यो सबैभन्दा धेरै रहेको बताइएको छ ।अमेजनमा विश्वव्यापी खाद्य कम्पनीहरूलाई आपूर्ति गर्न बालीहरू रोप्नका लागि साथै काठका लागि रूखहरू काटिने गरेको छ ।
गत वर्ष ग्लासगोमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा एक सयभन्दा बढी सरकारहरूले २०३० सम्ममा वन फँडानी रोक्ने र उल्टाउने वाचा गरेका थिए । ब्राजिलको अन्तरिक्ष एजेन्सी इनपेको पछिल्लो स्याटेलाइट डाटाले यसको विशाल वर्षावनको संरक्षण गर्न ब्राजिल सरकारको प्रतिबद्धतामाथि फेरी प्रश्न उठाएको वातावरणविद्हरू बताउँछन् ।
जनवरीमा कुल ४ सय ३० वर्ग किलोमिटर वन फँडानी भएको छ । यो क्षेत्र भनेको अमेरिकाको न्यूयोर्कको आकार भन्दा सात गुणा बढी हो ।
प्रतिक्रिया दिनुहोस्