२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने


117
Shares

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम-थासाङ खण्ड भोलि आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १५ गतेसम्म सडक बन्द हुने भएको हो ।

करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण आइतबारदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको निर्णयले आगामी फागुन १ देखि फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक खण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।

थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने भएको उहाँले जानकारी दिनुभएको छ ।

‘फागुन १ देखि १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर काभ्रे र बादरजुङको कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनहरू अवरुद्ध हुने छन् ।’, सहायक प्रजिअ ढकालले भन्नुभयो, ‘आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने छ ।’