१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा यसवर्ष २५ करोडको सुन्तलाको कारोबार


338
Shares

तनहुँ । तनहुँ जिल्लामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गतवर्ष २१ करोडको सुन्तला बिक्री भएको तनहुँमा यसवर्ष २५ करोडको सुन्तलाको कारोबार भएको हो ।

सुन्तलाको दाना राम्रो, उत्पादनमा वृद्धि र सस्तो मूल्य भएकाले पनि यसवर्ष सुन्तलाको कारोबार राम्रो भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

पकेट क्षेत्र मानिने ठाउँमा सुन्तला बढी फलेकाले पनि बिक्री राम्रो भएको हो । गतवर्ष अत्यधिक वर्षा भएकाले चोट लाग्ने, सुन्तला झर्ने, कुहिनेलगायतका समस्या भएपनि यो पटक भने त्यस्तो केही नभएको कृषकको भनाइ छ ।

एउटै कृषकले तीनलाखदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । आम्दानी राम्रो भएपछि गाउँभरिका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित भएको म्याग्दी गाउँपालिकाका कृषक रमेश अधिकारीको भनाइ छ ।

गत वर्षको तुलनामा यसवर्ष बोटमा लटरम्म सुन्तला फलेकाले पनि कृषकको आम्दानी बढेको हो । यहाँका कृषकहरुले सुन्तला बेचेरै घर खर्च टार्ने गरेकाछन् । उर्वर ठाउँ भएकाले पनि जिल्लाका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । कृषक राम बहादुर थापाले यसवर्ष ११ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो ।

जिल्लाको उमाचोक, नाम्सीकोट, छिपछिपे, वैदीलगायतका ठाउँहरु सुन्तलाको पकेट क्षेत्र मानिन्छ । सुन्तलाको पकेट क्षेत्र मानिने ठाउँहरुमा सुन्तलाको उत्पादन राम्रो भएकाले पनि यो वर्ष उत्पादन बढेको हो ।

गतवर्ष तनहुँमा २१ करोडको सुन्तला बिक्री भएको थियो भने यसवर्ष २५ करोडको कारोबार भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तनहुँमा एक हजार ४ हेक्टर क्षेत्रफल सुन्तलाको उत्पादनशील क्षेत्र रहेको छ ।

त्यसैले सुन्तला खेतीका लागि सुहाउँदो हावापानी भएकाले पनि तनहुँका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । सुन्तला कृषकहरुका लागि स्थानीय स्तरमै उन्नत प्रवृधि र ज्ञान दिनसके सुन्तलाखेतीबाट यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने थिए ।