
झापा । एक अर्ब रुपैयाँको लगानीमा तीन वर्षअघि मेचीनगर–१४ स्थित दुवागढीमा सञ्चालनमा आएको मनषा थाइफुड प्रालिमा भएको आगलागी १० घण्टापछि नियन्त्रणमा आएको छ ।
विहान करिव ५ बजेबाट शुरु भएको आगलागी अपरान्ह ३ बजे मात्रै नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर शुरु भएको आगलागी नियन्त्रणका लागि झापासहित मोरङ र सुनसरीबाट १५ वटा वरुणयन्त्र आएका थिए ।
आगलागीबाट उद्योगमा भएका उपकरण सहित कच्चा पदार्थ र उत्पादित सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिद दहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन् । यद्यपि क्षतिको एकीक विवरण संकलन नभइसकेको प्रहरीले जनाएको छ ।

२०७५ साल भदौमा स्थापित प्रालिले मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्राण्डका चाउचाउसहित चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्रेकर, कर्न फ्लेक्स लगायतका सामग्री उत्पादन गर्दै आएको थियो ।
उद्योगमा झापाका पर्शुराम अग्रवाल, ओम प्रकाश अग्रवाल, गणेश प्याकुरेल, बुद्धि घिमिरे र अजय अग्रवालको संयुक्त लगानी थियो । २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका उद्योगबाट दैनिक २० हजार बाक्सा विभिन्न नामका चाउचाउ उत्पादन हुँदै आएको उद्योगी वुद्धि घिमिरेले जानकारी दिनुभयो ।
यसअघि गत माघ २० गते मात्र झापाको काँकडभिट्टामा सञ्चालित एसएस जुत्ता उद्योगमा आगलागी भएको थियो । आगलागीबाट साढें आठ करोड रुपैयाँको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्