
एजेन्सी । म्यानमारको सैन्य सरकारले एकता दिवसको अवसरमा ८ सय बढी बन्दीलाई आममाफीको घोषणा गरेको छ ।
सैन्य प्रमुख जनरल मिन आङ ह्लाइङले ७५औं एकता दिवसको अवसरमा ८ सय १४ बन्दीलाई आममाफीको घोषणा गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सैन्य सरकारले गत अप्रिलमा पनि लगभग २३ हजार कैदीलाई आममाफी दिएको थियो ।
दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सेना प्रमुख मिनले देशका विचलित जातीय अल्पसंख्यकका बीच राष्ट्रिय एकताको लागि अलि गर्नुभएको थियो । कमजोर देशभक्तिको भावनाले राष्ट्रियता र राष्ट्रिय जातिका लागि भयानक खतरा निम्त्याउन सक्ने उहाँको भनाइ थियो ।
यद्यपि, अल्पसंख्यकसँगको द्वन्द्व अझै समाधान हुन नसकेको र यसले देशको विकासमा सुस्तता आएको सेनाप्रमुख मिनले स्वीकार गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले दशकौंको ब्रिटिश औपनिवेशिक शासनपछि जातीय समूहहरूलाई एकताबद्ध गर्ने १९४७ मा पाङ्लोङ सम्झौतामा हस्ताक्षर गरेकोमा अल्पसंख्यकको प्रशंसा गरे ।
बेलायतको औपनिवेशिक शासन अन्त्य भएको दिनको सम्झनामा म्यानमारले हरेक वर्ष एकता दिवस मनाउँदै आएको छ । गत वर्ष प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई पदच्यूत गर्दै सेनाले सत्ता कब्जा गरेपछि देश अशान्तिले ग्रसित भएको बेला यो उत्सव मनाइएको हो ।
सैन्य शासनको विरुद्धमा रहेकाले भने कार्यक्रम बहिस्कार गरेका छन् । सत्ता कब्जापछि भएको हिंसात्मक प्रदर्शन तथा सेनाको कारबाहीमा हालसम्म १५ सयभन्दा बढी नागरिक मारिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्