१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसले युक्रेनमाथि आक्रमण गरे प्रतिकार गर्ने बाइडेनको चेतावनी


260
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनै पनि समय युक्रेनमाथि बमबारी गर्न सक्ने आंकलन गर्दै रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनलाई युक्रेनमा आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा बाइडनेले उक्त चेतावनी दिनुभएको हो । रुसले कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्जनौं पश्चिमा राष्ट्रहरुले आफ्ना नागरिकलाई तत्काल युक्रेन छोड्न आदेश दिएका छन् ।

अमेरिका, बेलायत, जर्मनी लगायतका देशहरुले युक्रेनमा रहेका नागरिकहरुलाई युक्रेन छाड्न आदेश दिएका हुन् । रुसले युक्रेनको सीमामा एक लाख बढी सैनिक तैनाथ गरी युद्धको तयारी गरेको ती देशहरुको आरोप छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन राजधानी किभमा रहेको अमेरिकी दुतावास पनि खाली गर्न आदेश दिनुभएको छ । यसैगरी क्यानाडाले पनि आफ्नो दुताबासलाई पोल्याण्डको सीमा नजिक सार्ने निर्णय गरेको छ ।

यसअघि बेलायत, क्यानाडा, नेदरल्यान्ड्स, लात्भिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न भनिसकेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजार नागरिकको मृत्यु हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ ।