
संजिव कार्की
प्रिय मान्छे,
मीठो स्मृति ! अविरल शुभकामना !
प्रेमी भ्यालेन्टाइनले आफ्नो अमूल्य मानव चोला गुमाउन बाध्य भएर प्रेमको अमरत्व स्थापित गरेको दिन । मृत्युलाई प्रेमले प्रतिस्थापन गरेको प्रेमको अमरत्वलाई कायम गरेको विशेष र प्रेरणादायी दिवस भ्यालेन्टाइनको स्मृति गरिने दिन १४ फेब्रुअरी ! भौतिक जीवन र जगत् क्षणभंगुर छ तर मान्छेको मानवता प्रेम र कृति सदैव अमर, अजर,अविनाशी छ । मृत्यु नियमित आकस्मिकता र अनिवार्य सत्य हो । तर प्रेमको मृत्यु पवित्रताको मृत्यु मानवता र मनुष्यतत्वको मृत्यु कल्पना गरिंदैन, यो भावनात्मक पक्ष हो । मृत्युवरण गरेकासँग पनि भावनात्मक स्पर्श गर्न सकिन्छ । प्रेमको अमरत्वले आत्मिक मिलन र संयोजनलाई स्वीकार गर्छ । प्रेम परमार्थ सत्य हो । प्रेम निर्विकार र निराकार भएर अन्तरहृदय र मानसमा झंकृत भैरहन्छ । पवित्र प्रेमको परापर सम्बन्ध छ । पवित्र प्रेम, पवित्र प्रेमसँग कहिल्यै अलग बन्न सक्दैन ।
प्रेमको अध्यात्मिक मिलन र संसर्ग जरुर हुन्छ । नश्वर शरीर छोटो समयको लागि हुन्छ भने आत्माको मिलन र संवहन सदासर्वदा रहन्छ । शारीरिक निकटतामा अबरोध भए पनि भावनात्मक सानिध्यतामा कमी हुन्न । आत्मीयतालाई जीवन्त राख्न विविध कारणले बिछोड भएका प्रेमी प्रेमिकाले आ–आफ्नो संकल्प उपासना र निष्ठाको लागि व्रत लिने गर्छन, यज्ञादी गर्छन । भर्खरै मृत्युवरण गरेकी विश्व प्रसिद्द गायिका लता मंगेस्कर र उनका प्रेमी राजस सिंहले विवाह नगेर नै प्रेमको उपासना गरेको कुरा चर्चामा छ । नेपालमा पनि एक ख्यातिप्राप्त साहित्यकारले आफ्नी प्रेमिकाको नाम आफ्नो नाम अघिल्तिर लेख्ने गरेको र उनको प्रेम उपासनाका खातिर अविवाहित रहेको र एक छाक खाना छोडेको विषय पनि सर्वत्र चचा, चासो र प्रशंसा बनेर आएको छ ।
रोमका पुजारी सन्त भ्यालेन्टाइनले प्रेमका पुजारीहरूलाई विवाह गराई दिने कुरा प्रतिबन्धित प्रेमको लागि एक साहस र प्रेम समर्पणप्रतिको निष्ठा थियो । प्रेमको निष्ठा बोकेका र निष्ठावान प्रेमको लागि आफूलाई समर्पित गरेका भ्यालेन्टाइनलाई तत्कालीन रोमका सम्राट क्लाउडीयसले मृत्युदण्ड दिएको दिन संसार भरका प्रेमी प्रेमिकाको हर प्रेमिल मनहरूको स्पन्दनमा स्पन्दित छ ।
तसर्थ प्रेमको शक्ति, सामथ्र्य अपराजित र अप्रितम छ । आध्यात्मिक प्रेम आदर्श र उदाहरणीय बनेर रहेको हुन्छ । प्रेमले प्राप्तिलाई मात्र आफ्नो ठान्दैन । प्रेम समर्पण हो, प्रेम त्याग हो , प्रेम विश्वास आस्था र इज्जत पनि हो । प्रेममा कहिल्यै र कसैगरी प्रयाप्तता हुँदैन । अप्रयाप्तताको कारण नै मान्छे माया– माया भन्दै भौतारिन्छ । प्रेमको याचना गर्छ । तडपिन्छ । प्रेमको महत्व यसको अपर्याप्ततासँग पनि छ । यसको अमरत्वसँग पनि छ ।
सच्चा प्रेममा निष्ठा र नैतिकताले आँखा खोलेको हुन्छ । आध्यात्मिक ‘प्रेम’ शरीर र मन भन्दा माथि रहेको हुन्छ । आत्मासाक्षत्कारलाई प्रेम भनिन्छ । शरीर र शरीरको मिलन मात्र प्रेम होइन । प्रेम जटिल र समस्याग्रस्त हुनुहुदैन । प्रेम सहजानुभूतिले भरिएको हुनुपर्छ । प्रेम वासना मात्रै होइन । प्रेमको सुगन्ध यसको निखारता र निस्वार्थतासँग छ । प्रेम चित्त ( संकुचनमा ) हैन व्यापक चैतन्यतामा रहेको र फैलेको हुन्छ । प्रेम अन्तरहृदयको प्रतिध्वनि हो । यो साक्षात तर आकारविहीन छ । यो मन मुटुको स्पर्श र भाषा हो सङ्केत हो ।
प्रिय मान्छे,
प्रेम बजारमा देखिने सोकेसको आकर्षक वस्तु होइन । प्रेम अमूल्य र अद्धितीय हुन्छ । प्रेम निःशन्देह चोखो र मीठो हुन्छ । प्रेम अजम्बरी थियो रहनेछ । शारीरिक आकर्षण र देह सुख भन्दा माथि उठेको प्रेम वास्तविक प्रेम हो । प्रेम मनसँग अन्तरसम्बन्धित हुनाले यो खुशीसँग निकट छ,आत्मिक भावनात्मक र सहृदयी प्रेम । प्रेममा गणित हुँदैन । प्रेम स्वार्थको कारोबार होइन यो निःशर्त हुन्छ । स्वार्थको हिसाब किताब गरेर गरिने प्रेम व्यापार हो नाफा नोक्शानको माल हो । प्रेममा पूजा र उपासना हुन्छ । परस्परमा समर्पण र त्याग हुन्छ । निस्वार्थता नै प्रेमको एकमात्र स्वार्थ र शर्त हो । प्रेममा रूप,वैंश, धन सम्पति पद र प्रतिष्ठा प्राथमिकीकरणमा पर्दैन । यदि पर्यो भने त्यो अल्पकालीन र गलत प्रवृत्ति उन्मुख रहन्छ । दीर्घकालीन प्रेम जीवनको सर्वस्व हो । आज प्रेम दिवस, प्रेमको अमरत्व र स्थायित्वको सङ्कल्प र कामना गर्ने दिन ।
प्रेमको भयानक युद्धमा मार्ने र मारिनेहरूप्रति विशेष सहानुभूति सहित हार्दिक श्रद्दान्जली ! घायल, अङ्गभङ्ग, क्षतविक्षत मन मुटु र मस्तिष्क बनाउनेलाई शीघ्र स्वास्थ्य लाभको कामना ! प्रेमको महायात्रामा विजय र पराजयको सामना गर्ने अनि जय पराजयको कुनै पर्वाह नगर्ने प्रेमिल मनहरू, प्रेम सापेक्ष मन र प्रेम निरपेक्ष मनहरू सबैलाई प्रणय दिवसको शुभकामना !
प्रिय मान्छे,
प्रेम कुनै विशेष आग्रहका लागि नहोस्, जीवन र जगतका अस्तित्व प्रेरणा ऊर्जा र जाँगरका खातिर समर्पित बनोस् । प्रेम पीडासँग होइन पवित्रतासँग मजबूत र हराभरा रहन्छ । प्रेमले लुकाउँदैन, नलुकाएपछि दुखाउँदैन पनि िप्रेमको इतिहासमा पढिएका रोमियो–जुलियट. लैला–मज्नु, मुना–मदनमा देख्ने खोज्ने होइन आफैमा अनुभूत गर्ने हो । आफैमा प्रेम स्नेह प्रगाढता खोज्नु, परिष्कार गर्नु जरूरी छ । प्रेममा रुढता र जडता रहन्न । समय सापेक्ष रहन्छ । यसको पवित्रता शरीर र मन दुवैसँग रहन्छ । प्रेमले अभावमा भाव पैदा गरेर प्रेमलाई सुखद र स्वप्निल बनाउँछ । सच्चा प्रेमले परस्परमा हार र जीतलाई अस्वीकार गर्छ । प्रेमको स्वीकारोक्ति भनेको सहजतासाथ परिस्थितिको स्वीकार भाव हो ।
असहजताको मार्गमा पनि प्रेम सहजताका साथ त्याग र उपासना मार्फत प्रकट भैरहन्छ । सकारात्मक इनर्जी प्रेम हो दुरुत्साहन उदासिनता र जीवन विरक्ति प्रेम होइन । जीवन बोध, परिस्थितिबोध र समयबोध प्रेम हो । प्रेम बर्बादीको बाटो र उन्मादको विषय हुनुहुन्न र बनाइनु हुदैन । प्रेमवाद हो, प्रेम जीवन दर्शन हो ।
प्रिय मान्छे,
प्रेममा सद्भाव र अनुराग प्रकट गर्न कुनै साइत,मुहुर्त, घडी र पलाको आवश्यकता पर्दैन । ३६५ दिन नै प्रेम व्यक्त गर्न सकिन्छ तथापि सर्वव्यापी मान्यता पाएको र विशेष अर्थ बोकेके दिनको महत्व मान्छेको संस्कार र संस्कृति हो यसको झन् छुट्टै गरिमा हुन्छ । त्यसैले आजको दिन १४ फेब्रुअरी प्रेमले मानक खडा गरेको दिन हो । प्रेम गर्ने र प्रेमलाई प्रोत्साहन गर्ने सन्त भ्यालेन्टाइको जीवन उत्सर्ग भएको स्मृति दिवस । महत्वपूर्ण र विशेष हुने नै भयो । अतःआज गरिने प्रेम प्रस्ताव पर्व विशेषको सांस्कृतिक गुण हो । प्रेमको कुनै सीमा बन्देज बार र पर्खाल नहुने हुनाले आज यो दिवस पनि रोममा सीमित छैन विश्वव्यापी बनेको छ ।
प्रेम मानवीय गुण र धर्म हो । प्रेम केवल विवाहसँग मात्र सम्बन्धित छैन । यो सृष्टि र प्राणी जगत् सँग पनि अन्योन्याश्रित छ । प्रेम मानवतावाद हो । प्रेमले जात, धर्म, वर्ण, उमेर, लिङ्ग र भूगोलको भेद गर्दैन िप्रेमले उत्साह भर्न सिकाउँछ । रुन होइन हाँस्न प्रेरणा दिन्छ । प्रेम निर्भीक र निर्भय हुनुपर्छ । अतः अतीतलाई सम्झी नरोइरनु तिमी, जति रोए नि भुल्नु पर्दो रहेछ िजति रोए नि छुट्नु ट पर्दो रहेछ । छुट्नु प्रेमको अन्त्य होइन ।
नओइलाउने मनको फूलको मखमली माया छ जुनी जुनीलाई !
म बाँचेकै तिमीसँग माया लाउन
मरे पनि अर्को जुनी, तिमीलाई पाउन
माया गर्ने मुटुले हो निधारले होइन !
म जन्मेकै तिमीलाई माया गर्न
जाडो सकिएको छैन । तर प्रेमको याम गर्माउन थालेको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको हार्दिक शुभकामना प्रिय मान्छे लगयत सबै सबैमा । म पुन भन्छु प्रेम संकुचनमा होइन चैतन्यमा व्याप्त छ । प्रेमले अन्धो होइन विवेकी,संयमी र ऊर्जावान बनाउने बाटो देखाउने रणनीति अवलम्बन गर्नुपर्छ । जय प्रणय दिवस ! जय प्रेम !! जय मानवता !!!
प्रतिक्रिया दिनुहोस्