
गृष्माराज भण्डारी र दिपक श्रेष्ठ
काठमाडौं, फागुन १ । पशुपतिको राजराजेश्वरी घाटमा एउटा ठूलो शिवलिंग छ । कोल्टे अवस्थामा रहेको शिवलिंगलाई आकारकै आधारमा कतिपयले त आजकल ढल्केश्वर शिवलिंगको उपमा पनि दिन भ्याएका छन् । तर त्यसभित्रको ऐतिहासिक रहस्य बेग्लै छ ।
अहिले शिवलिंगको आकृति देखिएपनि प्राकृत स्वरुपमा भने यो कुण्ड हो । राजा शंकरदेवको समयमा यस कुण्डमार्फत पूर्वजन्म हेर्ने सुविधा प्राप्त थियो । भविष्यदर्शनी कुण्ड भनेर चिनिने यो कुण्डमा राजा शंकरदेवलाई आफ्नो पूर्वजन्म हेर्ने रहर भयो । राजाले कुण्डमा आफ्नो अनुहार हेर्नासाथ कुकुर देखे । रिसले चुर भएका राजाले तत्काल कुण्ड पुर्न लगाएको किम्बदन्ती रहेको संस्कृतिविद् सुशिल कोइराला बताउनुहुन्छ ।
खुल्ला आकासमुनि हजारौं वर्षदेखि घामपानी, असिनाका कारण यसको मौलिक रुप बिग्रदै गएको हो । शिवलिंगले थिचिएको माटो भासिने क्रममा असन्तुलित हुँदा शिवलिंगले कोल्टे रुप धारण गरेको हो । ढल्केश्वर नाममा कुनै आधार र प्रामाणिकता छैन । शिवलिंगले हजारौं वर्षपहिलेको घाम, पानी, हावा सहदै बसेको हुनाले अलिकति ढ्ल्नेको संस्कृतिविद् कोइराला बताउनुहुन्छ ।
पाशुपत क्षेत्रका सम्पदाहरुको एक पछि अर्को गर्दै नासिने क्रम झनझन बढ्दो छ । सयौं मूर्ति हराएका छन । कति संरक्षण नहुँदा नासिएका छन् । पाशुपत क्षेत्रको परिचायक यस्ता सम्पदाको संरक्षणमा भने पशुपति विकास कोषको ध्यान जान सकेको छैन ।
अनौठो त यहाँका कुनै पनि सांस्कृतिक सम्पदाका विषयमा कतै पनि सामान्यभन्दा सामान्य जानकारी पाइँदैन । न त घाम पानीबाट जोगाउने कुनै योजना छ । हजारौं वर्षका साक्षी यी सम्पदा नासिएका दिन पाशुपत क्षेत्रको इतिहास मेटिन्छ भन्ने हेक्का नै नभएको हो कि ?
प्रतिक्रिया दिनुहोस्