
काठमाडौं । समयमै मल ढुवानी नभएपछि कञ्चनपुरसहित सुदूरपश्चिममा रासायनिक मलको हाहाकार भएको छ ।
ठेकेदारले मल ढुवानीका लागि सस्तो दरमा सम्झौता गर्ने तर ढुवानी गर्न पन्छिने गरेका कारण मल आपूर्तिमा समस्या भएको हो । भारतबाट रासायनिक मल भित्र्याएसँगै माग अनुसार वितरणका लागि प्रदेश तथा जिल्लास्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमा पठाउने गरिन्छ ।
तर ढुवानीको जिम्मा लिएको ठेकेदारले सुदूरपश्चिमका लागि पठाइएको मल भैरहवा र कपिलवस्तुमै बेच्ने गरेको पाइएको छ ।उता, गहुँमा रासायनिक मल हाल्ने समय घर्किसक्दा समेत मल पाउन नसकेपछि कृषकहरु चिन्तित बनेका छन् ।
जिल्लाका कृष्णपुर, लालझाडी र पुनर्वास क्षेत्रका सहकारीहरुले भैरहवाबाटै मल ल्याएर कृषकलाई वितरण गरेका छन् । तर भीमदत्त, बेदकोट र दोधारा चाँदनीमा भने मलको हाहाकार भएको छ ।
सुदूरपश्चिमा यो समयका लागि ५ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने भएपनि साउन यता ३ हजार १ सय मेट्रिक टन मात्रै मल आएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्