
कैलाली, फागुन १२ । सुनौलो संगम युवा क्लबलाई टाईव्रेकरमा हराउँदै गोर्खा ब्वाईज रुपन्देही खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
यो सँगै जारी गोल्डकपको क्वाटरफाईनल समिरकण पुरा भएको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा गोर्खा ब्वाईजले सुनौलो संगमलाई टाईव्रेकरमा ५–३ ले हरायो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गोर्खा ब्वाईजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले पेनाल्टीमा गोल गरे । टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने ।
उनले सुनौलोका कप्तान मोहन थापाको पेनाल्टी बचाए । सुनौलोका लागि रन्जित थापा, अजित थापा, शंकर राईले गोल गरे । खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ चुनिए ।
उनले १० हजार नगद सहित ट्रफी प्राप्त गरे । अब गोर्खा ब्वाइजले सेमिफाईनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
यसअघि भएका खेलमा जित हात पार्दै विभागीय टीम एपीएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जन जागृती क्वाटरफाइनलमा पुगिसकेका छन् । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भईरहेको खेल फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्