
काठमाडौं । क्यानाडा सरकारले खोप विरोधी जनादेशको विरोधमा ट्रक चालकहरुको जारी आन्दोलन दवाउन नयाँ ऐन जारी गरेकाे छ ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले आन्दोलनमा सहभागीहरुको बैंक खाता रोक्का गर्ने आपतकालिन ऐन लागू गर्न निर्देशन दिनुभएको छ । आपतकालिन ऐन अनुसार अदालतको आदेशबिना बैंकहरूले विरोधमा संलग्न जोसुकैको व्यक्तिगत खाता रोक्का गर्न सक्नेछन् ।
प्रधानमन्त्री ट्रुडोले प्रहरीलाई प्रदर्शनकारीलाई जेल वा जरिवाना गर्न र महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्न थप उपकरणहरू दिइने बताउनुभएको छ । उहाँले कानून अस्थायी रूपमा र अत्यधिक विशिष्ट रूपमा लागू हुने जानकारी दिनुभएको हो । यो क्यानाडेलीलाई सुरक्षित राख्ने कदम भएको प्रधानमन्त्री ट्रुडोको भनाइ छ ।
उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्याण्डले सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकहरूले अदालतको आदेशको आवश्यकता बिनानै आन्दोलनसँग सम्बन्धित जो कोहीको व्यक्तिगत खाता फ्रिज गर्न सक्ने बताउनुभएको हो ।
उहाँले प्रदर्शनमा संलग्न जो कोहीको सावारी साधन, बीमा पनि निलम्बन गर्न सकिने चेतावनी दिनुभएको छ । आन्दोलन चर्काउनको लागि ह्याकरहरूले क्राउडफन्डिङ प्लेटफर्म मार्फत आन्दोलनकारीलाई चन्दा दिएको सार्वजनिक भए लगत्तै बेलायती सरकारले यस्तो कानून ल्याएको हो ।
यसैबीच, क्यानेडियन सिभिल लिबर्टीज एसोसिएसनले प्रधानमन्त्री ट्रुडोको उक्त कदमको विरोध गरेको छ । प्रधानमन्त्रीको यो कदमले लोकतन्त्र र नागरिक स्वतन्त्रतालाई खतरामा पार्ने चेतावनी दिएका छन् । यता प्रदर्शनकारीहरुले सरकारको कदमबाट नतर्सिने प्रतिक्रिया दिएका छन् ।
आपतकालिन ऐनको आह्वानसँगै क्यानाडाभरि जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ । क्यानडाको राजधानी सहरमा सयौं आन्दाेलनकारीले विरोध प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्