२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बुधबारको संसद बैठकमा एमसीसी पेश हुनेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ : महामन्त्री थापा


429
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार संसदमा एमसीसी पेश हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनुभएको छ ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रश्तावलाई अघि बढाउने बताउनुभएको जानकारी दिनुभयो ।

महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रिपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताउनुभयो ।

उहाँले पार्टीले प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा दोहोरो चरित्र नदेखाउने बताउँदै तत्कालीन नेकपा सरकार रहँदा मन्त्रिपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास पनि प्रधानमन्त्रीले लिनुभएको बताउनुभयो ।

महामन्त्री थापाले बैठकमा पार्टीका नेताहरूले सरकारका कामका बारेमा छलफल गर्न खोजेकाले चाँडै त्यसका लागि बैठक बोलाइने पनि बताउनुभयो । उहाँले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकोले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।