१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


घटेन मृत्युदर, चिकित्सक भन्छन्- ‘१० प्रतिशतकाे मात्रै काेराेनाबाट ज्यान गएकाे छ’


195
Shares

काठमाडौं । माघ महिनाको दुई साता निकै तीव्र दरमा फैलिएको काेराेना संक्रमणको तेस्रो लहर हाल नियन्त्रणमा आएको छ ।

निकै संक्रामक पाइएको ओमिक्रोन भेरियन्टकाे संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या निकै कम रहे पनि ज्यान गुमाउनेको संख्या भने घट्न सकेको छैन । कोरोनाका कारण माघ महिनाभरी २ सय ८३ जनाको मृत्यु भयो । एक सातामै ७३ जनाले ज्यान गुमाइसकेका छन् ।

पुस महिनामा ४८ जना संक्रमितको मृत्यु भएको थियो । संक्रमणदर ५ प्रतिशत हाराहारीमा झर्दा समेत दैनिक सरदर १०–१२ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ । संक्रमणदर कम हुँदा मृत्यु हुनेकाे संख्या किन घट्न सकेन त ?

काठमाडौंका मुख्य सरकारी अस्पतालहरूका अनुसार मृत्यु हुने ७० प्रतिशत व्यक्ति खोप नलगाएका र दिर्घरोगीहरू रहेको पाइएको छ ।

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ पनि मुत्यु भएका अधिकांश व्यक्ति खोप नलगाएको रहेको बताउनुहुन्छ । ६० वर्षभन्दा माथिका, काेराेनाविरुद्धकाे खाेप नलगाएका र दीर्घराेगले च्यापेका मानिसहरूकाे काेराेना संक्रमणकै कारण मृत्यु भएकाे उहाँकाे भनाइ छ ।

त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम, लामो समय आईसीयू र भेन्टिलेटरमा उपचारत दिर्घरोगीहरूको बढी मृत्यु भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘७० प्रतिशत दीर्घराेगीहरू र २० प्रतिशत ज्येष्ठ नागरिक र अन्य राेगकाे उपचार गराएर लामाे समयदेखि अस्पताल बसिरहेका र १० प्रतिशतकाे मात्रै काेराेनाकै कारण मृत्यु भएकाे भन्न सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्यु भइरहेको छ । तेस्रो लहरको संक्रमण कम भए पनि मृत्युदर भने केही दिन स्थिर रहने डा. श्रेष्ठ बताउनुहुन्छ । अहिले आईसीयूमा लानुपर्ने बिरामीकाे संख्यामा कमी आएकाे उहाँकाे भनाइ छ ।

ओमिक्रोन संक्रमण कम संक्रामक भनिएता पनि खोप नलगाएका व्यक्तिहरूलाई भने यस भाइरसले बढी असर गरेको छ । साथै दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित भएकाले सचेत हुन चिकित्सकहरूले सुझाएका छन् ।