२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


१५ सय बालबालिकामा क्यान्सर, उपचारका लागि आएका ८० प्रतिशत निको भएको चिकित्सकको भनाइ


182
Shares

काठमाडौं । आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस । हरेक वर्ष फेब्रुवरी १५ लाई अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसका रूपमा मनाइने गरिन्छ ।

हरेक वर्ष विश्वभर २ लाख ८० हजार जना १९ वर्ष मुनिका जनसंख्यामा क्यान्सर भएको पाइन्छ । नेपालमा समेत करिब १५ सय संख्याको हाराहारीमा बालबालिकाहरुमा क्यान्सर देखा पर्ने विशेषज्ञहरूले बताएका छन् ।

विशेष गरी बालबालिकाहरूमा रगत सम्बन्धी क्यान्सर बढी देखिने गरेको कान्ति बाल अस्पतालका क्यासर रोग विशेषज्ञ डा. विष्णुराथ गिरी बताउनुहुन्छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशतको रोग निको भएको उहाँको भनाइ छ ।

नेपालमा यस्तो क्यान्सरको उपचार विशेषगरी सरकारी अस्पतालहरूमा नै हुँदै आइरहेको छ । यी संस्थाहरूलाई थप सुदृण बनाउनुकासाथ साथै बाल क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय रणनीति नै आवश्यक रहेको डा. गिरी बताउनुहुन्छ ।

बालबालिकामा देखिने क्यान्सर रोकथाम गर्न नसकिने भएकाले यसलाइ नियन्त्रण गर्नका लागि छिटो पहिचान गरि छिटो उपचार नै एक मात्र विकल्प भएको उहाँको भनाइ छ । आर्थिक अभाव र चेतनाको अभावका कारण आएका बालबालिकाको पनि उपचार गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।

कतिपय क्यान्सर पिडित बालबालिकाहरू आर्थिक अभाव र चेतनाको कमीका कारण अस्पताल आएर क्यान्सर पत्ता लागिसकेपछि पनि उपचार नगरी फर्किने गरेको तीतो यथार्थसमेत हामीमाझ छ । यसका लागि राज्यले छिटोभन्दा छिटो बाल क्यान्सर सम्बन्धी रणनीति ल्याउनुपर्ने देखिन्छ ।