
काठमाडौं, फागुन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालले सडकमा नमूना संसद बनाएर विरोध प्रर्दशन गरेको छ ।
युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो ।
नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ ।
राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धनले गरेका राष्ट्रघाती कदमको विरोधमा संघले निरन्तर आन्दोलन गर्दै आएको बताउनुभयो । उहाँले गठबन्धन सरकारले १४ जना सांसद पद जोगाउन तथा सभामुखको पद जोगाउनको लागि प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाएकाले सडकमा आउनु परेको बताउनुभयो ।
सरकारले सत्ता गठबन्धन टिकाउनको लागि देशको विधि प्रक्रिया, पद्धती प्रणालीको विरुद्धमा धावा बोल्ने र नेपाललाई संधै आफ्नो स्वार्थको बन्धक बनाउने प्रयासको विरुद्ध युवा संघ सडक आएको पनि पौडेलले बताउनुभयो ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्