
काठमाडौं, फागुन १३ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र एकाएक संविधान संशोधनका एजेण्डा उठेपछि नेताहरुले एकार्कामै कटाक्ष गर्न थालेका छन् ।
यसैक्रममा संविधान संशोधनको गृहकार्यलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाउँदै यसलाई नाजायज र ढाँटछलको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ । मानिसहरू यो सुनेर उदेक मान्दैछन् । ‘केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ, कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न !,’ भन्दै आक्रोश पोखेका छन् ।
पार्टीभित्रको समीकरणमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई एक्ल्याउने खेलअन्तर्गत नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न खोजिएपछि नेकपाभित्र विवादको आगो सल्किएको हो ।
राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न नमिल्ने संविधानको व्यवस्था हटाएर गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा संविधान संशोधन गर्ने पक्षमा उभिएका थिए ।
यसका लागि सभिवालय बैठकले माधव नेपालको संयोजकत्वमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल नै बनाएको थियो । तर सर्वत्र आलोचना भएपछि नेम्बाङ र देवकोटाले कार्यदलको औचित्य नभएको भन्दै कार्य जिम्मेवारी नलिने बताएका छन् ।
संविधान संशोधन केका लागि भनेर प्रष्ट पार्नुपर्ने भन्दै पोखरेलले यस्तो ढाँट र छल गरेर धेरै दिन नटिक्ने बताए हुन् । नेकपाभित्र ओली पक्षीय नेताहरु संशोधन गृहकार्यको खुलेरै विपक्षमा उत्रिएका छन् ।
हालै मात्रै पार्टी उपाध्यक्ष बनाइएका गौतम बर्दियाबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमबाट पारजित हुन् । आफू संसद बाहिर रहनु परेकामा गौतमलाई छटपटी भएको छ भने जसरी पनि प्रधानमन्त्री बन्ने उपायका लागि उनले निरन्तर प्रयास गरिरहेका छन् ।
यसअघि उनी काठमाडौं ७ का रामवीर मानन्धरलाई राजीनामा गराई निर्वाचनमार्फत् संसदमा आउन चाहेका थिए । त्यो पार नलागेपछि डोल्पाबाट आउने प्रयासमा लागेका थिए । त्यो पनि सम्भव नभएपछि गौतम राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा राख्न लगाएर भएपनि सांसद बन्ने अभियानमा जुटेका छन् ।
हालको संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यमात्र प्रधानमन्त्रीको उम्मेदवार हुन पाउँछ । गौतमको यो चाहना पूरा गर्न नेकपाले कार्यदल बनाएकामा विपक्षी नेपाली कांग्रेसले पनि आपत्ति जनाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्